काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा फेरि अर्को चक्कु प्रहारको घटना भएको छ। सिड्नीको एक चर्चमा सोमबार चक्कु प्रहार भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ। प्रहरीले चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवादी कार्य’को संज्ञा दिएको छ।
Advertisement
असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थना चलिरहेको बेला अन्धाधुन्ध चक्कु प्रहार भएको थियो। घटनामा चार जना घाइते छन्। घटनामा संलग्न एक १६ वर्षीय बालक पक्राउ परेका छन्।
उक्त चर्चको प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेकोले चक्कु आक्रमणको पनि प्रत्यक्ष प्रसारण भएको थियो। उक्त घटनापछि सयौं मानिस चर्चबाहितर भेला भएपछि प्रहरीसँग झडप भएको थियो। झडपमा दुई प्रहरी घाइते भएका र २० प्रहरी गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
यसअघि यसैसाता सिड्नीको एक मलमा चक्कु प्रहार हुँदा नाबालकसहित छ जनाको ज्यान गएको थियो।