काठमाडौं– नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रीमियर कपमा शनिवार कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेपछि उनको चर्चा चुलिएको छ।
दीपेन्द्रले ऐतिहासिक ६ छक्का प्रहार गरेपछि उनको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा व्यापक भइरहेको छ। दीपेन्द्र कुनै पनि फर्म्याटको क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पाँचौं खेलाडी बनेका छन् भने टी-२० क्रिकेट फर्म्याटमा उक्त रेकर्ड बनाउने तेस्रो खेलाडी बनेका छन्।
यसैबीच क्रिकेट इतिहासमा पहिलोपटक एकै ओभरका प्रहार गरेर इतिहास रचेका दक्षिण अफ्रिकाका ब्याटसम्यान हर्षल गिब्सले दीपेन्द्रलाई बधाई दिएका छन्।
सन् २००७ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेका गिब्सले कमेन्टेटर एन्ड्रियु लियोनार्दले पोस्ट गरेको एसियन क्रिकेट काउन्सिलको भिडियो सेयर गर्दै दीपेन्द्रलाई बधाइ दिएका हुन्। उनले भनेका छन्- “वेलकम योङ म्यान।”