काठमाडौं– राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ। आफूले उपाध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको नेकपा एसले भने उम्मेद्वारी नदिने भएको छ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन्। घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी छन्।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन्। पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट छन्। उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ। तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो।
उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरिन्। आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिइन्।
उनले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन्। आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उनले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिइन्।
उनले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिन्।