कैलाली– धनगढी उपमहानगरपालिका-१८ मा भोकेस्नल स्कुल भवनको शिलान्यास गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम केन्द्र अर्थात् भोकेस्नल स्कुल भवनको सोमवार शिलान्यास गरिएको हो।
धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा तालिम केन्द्रको शिलान्यास उपमहानगरपालिकाको तर्फबाट प्राध्यापक डाक्टर हेमराज पन्त र युथ फाउन्डेसनको तर्फबाट अध्यक्ष सोम पनेरूले गरेका हुन्।
शिलान्यास कार्यक्रममा नेपाल युथ फाउन्डेसनका अध्यक्ष पनेरुले धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा काम गर्न पाउँदा एकदमै खुसी लागेको बताए। उनले व्यावसायिक तालिम केन्द्रले युवा लक्षित ४ प्रकारका सीप विकास तालिम गर्दै आएको बताए। तालिम केन्द्रबाट ५५० घण्टे वेल्डर र ३९० घण्टे पलम्बर, ईलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गरिँदै आएको छ। निकट भविष्यमै फूलबारीमै आवासीय भवनबाट युवाहरूले सीपमूलक तालिम लिन पाउने पनेरूले बताए।
तालिम केन्द्र शिलान्यास भएसँगै पहिलो चरणमा एक प्रशासनिक भवन , दुईवटा तालिम व्लक भवन, तीन वटा सानो भवनहरू तथा घेरवार सहितको संरचना निर्माण गरिने छ।
नगर प्रमुख गोपाल हमालले फुलबारी क्षेत्रमा सञ्चालनमा रहेको व्यावसायिक तालिम केन्द्रमा सुदूरपश्चिमका सबै जिल्लाका इच्छुक युवाले तालिम लिन सक्ने बताए। सीपमूलक तालिम पश्चात् युवाहरूले विभिन्न स्थानमा सहज रोजगारी पाउने अवस्था निर्माण हुने विश्वास लिएको मेयर हमालले बताए।
