काठमाडौं- केही वर्ष अघिसम्म रसुवाको कालिकास्थान-धुन्चे हुँदै स्याफ्रुबेंशी जोड्ने सडकमा सवारी सञ्चालन असहज थियो। वर्षा मात्र नभई हिउँदमा पनि सडकमा सवारी साधन मात्र नभई यात्रा गर्ने यात्रुले पनि सास्ती झेल्नुपर्थ्यो।
सडक हिलाम्य हुने, बिग्रने, खाल्डाखुल्डी पर्नेलगायत समस्याका कारण यात्रा सकसपूर्ण थियो। सडक सुधारका लागि कालोपत्रे पनि गरियो। तर, त्यो केही महिना मात्र टिक्थ्यो। तर, पछिल्लो समय सडकमा सिमेन्टेड (ढलान) गरिएसँगै सवारी सञ्चालन सहज बनेको सवारी चालकहरू बताउँछन्।
चालक छिरिङ तामाङले यस सडकमा कन्टेनर चलाउन थालेको ५ वर्ष बित्यो। ‘पहिलेभन्दा अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘विगतमा सडकमा सहज रूपमा सवारी सञ्चालनका लागि कालोपत्रे पनि भएको हो तर त्यो दुई महिना पनि टिकेन।’ उनको भनाइमा पछिल्लो समय ढलान गरिएको सडक टिकाउ भएको छ। र, यात्रा पनि सहज भएको छ।
दुई दशक अघिदेखि समस्या बेहोर्दै आएका चालक र यात्रीहरू अहिले भने ढुक्कले यात्रा गर्न पाएकामा दंग छन्। र, सडक पनि दिगो बनेको छ।
खासगरी, बढी पानी पर्ने, हिउँ बर्सिने र चिसो रहने उच्च हिमाली भेगमा कालोपत्रेभन्दा ढलान सडक बढी टिकाऊ देखिएका छन्। इन्जिनियर नारायणदत्त भण्डारी पनि त्यसैमा सहमत छन्। भन्छन्, ‘केही जिल्लाको अनुभवमा पनि कालोपत्रेभन्दा ढलाने सडक बढी टिकाउ पाएको छु।’
यस्तो छ फरक
पक्की सडकलाई कालोपत्रे र ढलान गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। कालोपत्रे सडकमा शुरुको लागत कम परे पनि मर्मतमा अत्यधिक खर्च हुन्छ।
ढलान सडकमा भने ठ्याक्कै उल्टो छ। शुरुको लागत बढी पर्छ, मर्मतमा कम खर्च हुन्छ।
कालोपत्रे सडक पनि विभिन्न प्रकारका हुन्छन्। जहाँ बढी लोडका सवारी साधन सञ्चालन हुन्छन्, त्यहाँको माटो कमजोर हुन्छ। सतहको तापक्रम कम रहने र हिउँ पर्ने ठाउँहरूमा ढलानकै प्रयोग उपयुक्त देखिएको छ।
सडक विभागको एक अध्ययनले पनि अस्फाल्ट (बिटुमिन) कालोपत्रेभन्दा ढलान सडकको लागत १३.११ प्रतिशत न्यून देखाएको छ। कालोपत्रेको तुलनामा ढलानको आयु लामो हुने, पानीले नबिग्रने, इन्धन खपत न्यून हुनेजस्ता फाइदा रहेको इन्जिनियरहरू बताउँछन्।
पछिल्ला वर्षमा नेपालमा पनि दीर्घकालीन विकासका लागि दिगो हुने सडक निर्माणको बहस चलिरहेको छ। र, त्यसको तत्कालीन उपायका रूपमा ढलान सडक देखिएको छ।
इन्जिनियर भण्डारीका अनुसार कालोपत्रेभन्दा ढलाने सडक ५ गुणा बढी टिकाऊ पाइएको छ। ‘स्ट्यान्डर्ड पुर्याएर गरिएको ढलान सडक कम्तीमा २० वर्षसम्म टिक्छ। कालोपत्रे सडक भने ४ देखि ६ वर्षमा फेरि मर्मत गर्नुपर्छ। त्यो समयभन्दा अघि खाल्डाखुल्डी पर्छन्, त्यसलाई निकाल्नुपर्छ र फेरि टालटुल पार्नुपर्छ,’ उनी भन्छन्, ‘ढलान सडकमा भने डिजाइन गरेर ढलान गर्नुपर्छ। कति फिटनेसको, कति ग्रेडको भन्ने हुन्छ। सोहीअनुसार प्लेसमेन्ट डिजाइन गर्नुपर्छ।’ समस्या देखिरहने खण्डहरूको मर्मत र स्तरोन्नतिका लागि ढलानमा जोड दिनुपर्ने देखिएको उनको सुझाव छ।