काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कडा निर्देशनपछि नेपाल प्रहरीले भारतसँगको खुला सीमाबाट हुँदै आएको तस्करी नियन्त्रणमा लिन सक्रियता देखाएको छ।
राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रूपमा तस्करी नियन्त्रण गर्न सक्रिय रहेको प्रहरीले जनाएको छ। यसअघि प्रहरीकै मिलेमतोमा मुलुकभरका खुला सीमाबाट अवैध सामानको ओसारपसार व्यापक थियो। पद बहाली गरेकै दिन मन्त्री लामिछानेले खुला सीमाबाट हुने तस्करीमा नाम जोडिए कसैलाई बाँकी नराख्ने चेतावनी दिएका थिए।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालु आर्थिक वर्ष ०८०–८१ को हालसम्म ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकहरूबाट संकलन भएको हो। ती शीर्षकमा संलग्न ७ हजार ६७९ जनालाई प्रहरीले कानूनी दायरामा ल्याएको छ।
राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारवाहीलगायतबाट प्रहरीले वार्षिक ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ। ‘लुकाई–छिपाई भन्सार छली गर्ने, अवैध रूपले सामान भित्र्याउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या हुन्। यस्ता समस्याको समाधान गर्दै जाँचमा कडाइ गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपायहरू अवलम्बन गरी प्रहरीले सक्रिय रूपमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल भन्छन्, ‘राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीहरूसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ।’
संकलित राजस्वमध्ये अवैध मालसमान बरामदीबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार २५६ रूपैयाँ, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३५४ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५४३ रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालु आवमा हालसम्मको तथ्यांक विश्लेषण गर्दा राजस्व संकलन ६ अर्ब ५ करोड १७ लाख ४४ हजार ७९४ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ। जुन गत आवको तुलनामा ३५.१७ प्रतिशतले बढी हुने आकलन छ।
उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ रुपैयाँका दरले हुन आउँछ। चालु आवको फागुन मसान्तसम्म ८ महिनाको राजस्व संकलन गत आवको ८ महिनाको तुलनामा ५०.२८ प्रतिशतले वृद्धि भएको देखिएको छ।
आव ०७८–७९ र ०७९–८० को फागुन मसान्तसम्मको ८–८ महिनाको तुलना गर्दा १०.४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ।
यस्तै, आव ०७८–७९ को फागुन मसान्तसम्म २ अर्ब ९९ करोड १ लाख ४३ हजार २४८ र चालु आवको फागुन मसान्तसम्म ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ राजस्व संकलन भएको छ। दुवै आवको ८ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
‘वर्तमान गृहमन्त्री ज्यूको पदवहाली मितिभन्दा अगाडिको २२ दिन र पछाडिको २२ दिन अवधिको फैसला कार्यान्वयन बाहेकको राजस्व संकलनतर्फको तथ्यांक विश्लेषण गर्दा समग्रमा २४.५० प्रतिशतले राजस्व संकलन वृद्धि भएको देखिन्छ,’ डीआईजी ढकाल भन्छन्, ‘सीमा क्षेत्रमा नेपाल प्रहरीको सक्रियता बढेकै कारण राजस्व संकलन वृद्धि तथा चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको हो।’