कास्की- जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ सल्यान घर भई पोखरामा अध्ययनरत १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो। उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययनरत छिन्।
परीक्षा सकिएकाले आमा सुशीला, बुवा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन्। वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएका थिए। परिवारमा छुट्टै रमाइलो थियो। बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो। तर, सोनियाको त्यो चाहना पूरा हुन सकेन।
घर जान चारैजना चढेको ग१ज ५५४७ नम्बरको जिप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा सडकबाट अढाइ सय मिटर तल खसेर दुर्घटना भयो। दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
पोखराको हरिचोक सल्यान रुटमा चल्ने जिप दुर्घटनामा पोखरा-२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका छन्। घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ।
सोनिसा जिपको अघिल्लो सिटमा थिइन्। ग्रामीण सडक भए पनि जिपको गति तीव्र थियो। ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो। मोटरसाइकल तीव्र गतिमा थियो। घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जिप भिरमा खस्यो,’ सोनिसाले दुर्घटनाबारे बताइन्।
घुम्तीमा दायाँ मोडिनुपर्ने जिप बायाँ मोडिएर भिरबाट तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासीले उद्धार गरी अस्पताल ल्याएको सोनिसाले बताइन्। ‘दुर्घटनापछि पनि म पूरै होशमा थिएँ। हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनुभएको हो,’ उनले भनिन्।
घटनामा पोखरा-२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका-४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा-२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला कास्की प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।