काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नु पर्नेमा जोड दिएका छन् ।
व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका ११ तनहुँसुरमा समापन गर्दै उनले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनु पर्ने बताए । उनले रोजगारी र सेवा सुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनु पर्नेमा जोड दिए ।
“पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ”, उनले भने, “आज डाँडा–डाँडामा विकास पुगेको छ, डाँडाको दिन फर्किन थालेको छ, राना भनेको जनजाति हुन्, अब जनजातिका पनि दिन फर्किन्छन् ।”
नेता पौडेलले तनहुँसुर ऐतिहासिक ठाउँ रहेकाले यसको विकास गर्नु पर्ने बताए । उनले कुनै जमानामा चहलपहल रहेको तनहुँसुर विस्तारै ओझेलमा परे पनि विकासको क्रमले पुनः यो ठाउँ चहलपहल हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा उनले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गरे । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका थिए । उनीहरुले क्रमशः ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ रुपैयाँ नगद प्राप्त गरे ।