काठमाडौँको रामकोटमा एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका छन्।
नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँचजना सोमबार राति ९.३० बजे बेहोस अवस्थामा भेटिएका हुन्। तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
यस्तै, ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेका छन्। उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनीहरु चारैजनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका-१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।