अनेकन राजनीतिक बेइमानी गर्दै भए पनि आफ्नो पदको सुरक्षामा केन्द्रित हुनेहरूबाट नेपाली जनताले अब बढी आशा गर्नु बेकार छ।
कुखुरा पालन व्यवसाय गर्ने सोचका साथ जीवन विकास लघुवित्तबाट ४ लाख ऋण लिएका मेरा छिमेकी मित्रले कुखुराको खोरसमेत पूरा गर्न सकेनन्। उनले ऋण लिएकै समयमा कुखुरा पालन गरेका भए एक लट कुखुरा बिक्री गरिसकेका हुने थिए। न त खोर नै पूरा गरे न कुखुरा पालन नै। हालका मितिसम्म लघुवित्तको आवधिक किस्ता अर्कै स्रोतका आधारमा तिरेको पाइएको छ।
श्रीमतीले विदेशबाट पठाएको रकमले आजका दिनसम्म त किस्ता तिर्न सहजै भए पनि श्रीमती स्वदेश फर्केसँगै फेरि रकम हिसाबकिताबको झमेला बढ्दै जाने र सम्बन्धमै दरार आउन सक्दैन भन्न पनि सकिँदैन। ऋण लिने पनि उनै र तिर्ने पनि उनै भएका कारण मेरो टाउको दुखाइ नभए पनि देशभरका लघुवित्तका पीडितहरूको समस्या देख्दा भोलिका दिनमा उनका समस्यासँग कुनै न कुनै रूपमा जोडिनुपर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ।
देशभरका मिटर ब्याजी र लघुवित्तका पीडितहरू काठमाडौं केन्द्रित भएका छन्। करिब महिना दिनअघिदेखि झापाको मेचीपुलबाट शुरु गरेको यात्राले ९ फागुनमा काठमाडौं प्रवेश पाएको सञ्चार माध्यमहरू बताउँदै थिए। फागुनको महिना सकिन लागेको छ, यस अवधिमा केही होला कि भन्ने आशामा काठमाडौंको चिसो खाएका उनीहरूको माग पूरा हुने हो कि होइन भन्न सकिन्न।
माघ महिनाको चिसोमा झापाका सडकमा उनीहरूको कुपोषणले सताएको जस्तो देखिने जीर्ण शरीर र अनेकन तनावले ग्रस्त अनुहारहरू सकुशल राजधानी नै पुग्छन्, पुग्दैनन् भन्ने नलागेको होइन। काठमाडौं भने पुगेको सुन्न पाइएको छ। यतिका पीडा र दृश्य आफ्नै अनुहार अगाडि प्रष्ट भए पनि अझै साहुकार र लघुवित्तबाट कर्जा लिने क्रम घटेको छैन।
उत्पादनभन्दा उपभोग बढाउने अर्थात् आफ्नो आम्दानीभन्दा बढी खर्च गर्ने क्रम रोकिएको देखिँदैन। सिँचाइका लागि पानी, बीउ र मल उपलब्ध भए पनि करेसा बारी बाँझै हुन्छ। एवं प्रकारले अन्य खर्चका शीर्षकहरू बढेका बढ्यै देखिन्छन्।
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्। अर्थात्, जबसम्म जीवन छ, तबसम्म सुखपुर्वक बाँच्नुपर्छ। यो चारबाक ऋषिको भौतिक दर्शन मानिन्छ। समाजको ठूलो हिस्सा धार्मिक आस्थाका कारण परलोकको विश्वास गर्ने, यस लोकमा प्राप्त गर्न नसकेका विषयहरू अर्को लोकमा प्राप्त गर्ने ध्येयका साथ अनेकन कर्मकाण्डहरूको आयोजना र सहभागी गर्ने कार्यमा लागेको नै छ।
हिउँदभरि गाउँ नै हल्लाले गुञ्जिने गरी पूराण वाचन हुने गरेका छन्। दान, धर्म, पूजालगायत सामाजिक व्यवहारहरू घटेका छैनन्, बरु बढेकै छन्। समाजको सानो हिस्सा परलोकमा विश्वास गर्ने नभए पनि यस लोकमा सुख भोग गर्नका लागि उपभोक्तावादी बन्ने र परलोक भए त्यसमा आफ्नो स्थान ओगट्न गरिने अनुष्ठानका खर्चहरूले गर्दा नेपाली समाज उत्पादनमा जोडिने र मितव्ययी बन्नुपर्ने कर्मबाट टाढा-टाढा जाँदैछ।
हरेक क्षेत्र उपभोक्तवादी बन्दै छ। लघुवित्तबाट ऋण लिएर भए पनि जन्मोत्सव मनाउनैपर्ने मात्रै नभई त्यहीअनुसारको भोज भतेर र लवाइखवाइ गर्नैपर्ने देखिएको छ। अधिकांश वस्तुको आपूर्ति भारतीय बजारबाट गरिन्छ। कृषि क्षेत्रमा बसोबास गर्ने र आफ्नै चामल उत्पादन हुने भए पनि भारतीय बास्मती चामल नै प्रयोग गर्नुपर्ने प्रवृत्ति झांगिएको छ। ऋण लिएर भए पनि मोटरसाइकल त्यही पनि धेरै इन्धन खपत हुने खरिद गर्नुपर्ने, १५ देखि २० मिनटको पैदल दूरीमा समेत यातायातका साधन प्रयोग गर्नुपर्ने अत्यन्तै विलासितापूर्ण जीवनले खर्च मात्रै बढाएको छैन, मोटोपनलगायत अनेकन रोगहरूको बढोत्तरी भएको छ।
समस्या ऋण लिने र दिने दुवैमा देखिन्छ। ऋण लिनेले उक्त रकम उत्पादनशील क्षेत्रमा खर्च गर्ने गर्नुपर्नेमा रकम हात पर्नासाथ विलासी प्रवृत्ति छ। ऋण दिनेहरू ऋणीको उद्यमशीलता ख्याल नगर्ने बरु धितो कब्जा गर्नेमा मात्रै सीमित देखिन्छन्। जब कि, ऋणी बलियो भए मात्र बैंक तथा वित्तीय संस्था दरिला हुने हुन्। ऋणी सक्षम हुँदा मात्र बैंकको साँवा तथा ब्याज समयमा तिर्न सक्ने हो। जुन उद्देश्यका लागि ऋण लिएको हो, त्यही कार्यमा ऋणको सदुपयोग भएको छ कि छैन भन्ने बैंक तथा वित्तीय संस्थाबाट निरन्तर अनुगमन हुने गरेको भए मेरा छिमेकी मित्रले कुखुरा पालेका हुने थिए। उत्पादनमा जोडिने र समयमा ऋणको साँवा र ब्याजको किस्ता तिर्न सक्षम हुने नै थिए।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५६ मा बैंक वा वित्तीय संस्थाले जुन प्रयोजनका लागि ऋणीलाई कर्जा दिएको हो, सो प्रयोजनमा ऋणीले कर्जा रकम सदुपयोग गरेको छ वा छैन भन्ने सम्बन्धमा अनुगमनको तालिका बनाई सोहीबमोजिम नियमित अनुगमन गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको भए पनि बैंक तथा वित्तीय संस्थाहरू आफ्नो लगानी सुरक्षणका लागि धितोमा मात्रै केन्द्रित भएका छन्।
कुखुरा पालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह भएको भए पनि ऋणीहरूले अर्कै क्षेत्रमा लगानी गरेका कारण सीमावर्ती क्षेत्रमा भारतबाट कुखुरा ल्याइने गरेको प्रष्ट छ। कुखुरा र मासु भारतबाट आउने यस्ता कार्यले हालका दिनसम्म कुखुरा पालन गरेका व्यवसायी कृषकहरू अबका दिनमा पलायन हुने नै छन्। जसरी भारतबाट दूध आयात हुने कारणले दूध उत्पादक कृषकहरू शिथिल भएर क्रमशः व्यवसायबाट अलग हुन खोज्दैछन्।
यस कार्यमा सीमामा हुने निगरानी र व्यवसायीहरूको इमान्दारिता, सरोकारवालाहरूको समन्वय र सहयोग भएको भए ऋणको लगानी सही क्षेत्रमा हुने थियो। र, त्यसमार्फत उत्पादन बढ्ने र आयातमा कमी आउने थियो। मासु भारतबाट आए पनि कुखुराको मल आउँदैन, जसकारण दाना उत्पादनमा प्रयोग हुने मकै तथा तोरीको उत्पादनमा कमी हुन्छ। दानाको मूल्य बढ्दा मासु उत्पादनको लागत बढ्ने र तुलनात्मक रूपमा भारतीय कुखुरा सस्तो पर्ने जान्छ।
यस्ता साना तर महत्त्वपूर्ण विषयहरूमा ध्यान नदिने हो भने अर्थतन्त्रमा आउने नकारात्मक अवस्थाले बैंक तथा वित्तीय संस्थाले जति नै आफ्नो लगानीको सुनिश्चिततामा ध्यान दिए पनि सम्भव हुँदैन। फलस्वरूप बैंकको लगानी अर्थात् आम नागरिकको बचतमा असर पुग्ने र हाल देखिएका सहकारीको समस्या यत्रतत्र देखिने हुन्छ नै।
यी सबै समस्याको समाधानका लागि उपयुक्त नीतिको तर्जुमा गर्ने राजनीति भए पनि नेपालमा राजनीति नागरिकको अवस्था सुधार गर्ने खालको नभई नेतृत्वको व्यवस्थापन गर्ने साधन बनेको छ। आफूलाई कम्युनिस्ट भन्ने मात्र नभई सर्वहाराको मुक्तिका लागि जनयुद्ध गरेका व्यक्ति नै प्रधानमन्त्री हुँदासमेत मिटरब्याजी पीडितहरूले न्याय पाएनन्। अनेकन राजनीतिक बेइमानी गर्दै भए पनि आफ्नो पदको सुरक्षामा केन्द्रित हुनेहरूबाट नेपाली जनताले अब बढी आशा गर्नु बेकार छ। राज्यले गरेका ठूला लगानीहरू एकपछि अर्को गर्दै असफल भइसके।
ऋण लिएर लगानी गरेका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरू ऋणको किस्ता तिर्न त कता हो कता तिनको सञ्चालन खर्चसमेत नधान्ने अवस्थामा पुगिसकेका समाचारहरू आएको अवस्थामा अझै अर्को विमानस्थल निर्माणको तयारी हुँदै गरेको सुनिएको छ।
सरकारले नागरिकको अभिभावकत्व गर्न असक्षम रहेको अवस्थामा अब हरेकले आफ्नोबारेमा आफैं सोच्न आवश्यक देखिन्छ। हरेक नागरिक कुनै न कुनै रूपमा उत्पादनमा जोडिने र मितव्ययी बन्नु नै आजको आवश्यकता हो। यसले व्यक्तिलाई त फाइदा हुन्छ नै, त्यसका अलावा देशको अर्थतन्त्रमा केही भए पनि सहयोग पुग्ने देखिन्छ।