कैलाली- धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित पबित्र धार्मिक स्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रीका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पूष्प वर्षा गरिएको आयोजक बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनले महाशिवरात्रीको अवसरमा यहाँ पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको समेत जानकारी दिए ।
कैलाली जिल्लाकै प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन यसले मद्दत गर्ने बताउदै अध्यक्ष जोशीले आजै अपराह्न ४ बजे सवा दुुई करोड दीप प्रज्वलन गरिने समेत अध्यक्ष जोशीले जानकारी दिए ।
पुष्प वर्षाका लागि धनगढीका युवा नरेन्द्र शाहको संयोजकत्वको गठित टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम संकलन गरेको जनाइएको छ ।
पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र ३ क्वीन्टल फूलका लागि दुईलाख गरी १३ लाख खर्च हुने बताउदै बाकी रकमबाट महाशिवरात्रीमा भक्तजनका लागि भण्डारा, निःशुल्क खाना र पानीको व्यवस्था गरिने शाहले बताए ।
बेहडाबाबा मन्दिरमा दर्शन तथा पुजाका लागि बिहान २ बजेदेखि भक्तजनहरुको घुइचो लागेको बताउदै अध्यक्ष जोशीले दर्शनका लागि मन्दिरका चारवटै ढोका खुला गरिएको बताए ।
बेहडाबाबा मन्दिरको दर्शनका लागि नेपालका विभिन्न भागका साथै भारतकाबाट समेत भक्तजनहरु आउने गर्दछन