युक्रेनको जेपोरजियास्थित परमाणु प्लान्टमा लागेको आगो नियन्त्रणमा लिइएको छ। रुसले प्लान्टमा आक्रमण गरेपछि आगो लागेको थियो।
युक्रेनी अधिकारीहरूले आगो नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। परमाणु प्लान्टस्थित पाँचतले तालिम केन्द्रमा आगो लागेको, जुन नियन्त्रणमा लिइएको र ६ वटा रियाक्टरसम्म आगो पुग्न नपाएको अधिकारीहरूको भनाइ छ।
आगलागी नियन्त्रणपछि रुसी सैनिकले परमाणु प्लान्ट नियन्त्रणमा लिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी सैनिकले नियन्त्रणमा लिएर उक्त प्लान्ट बन्द गरिदिएका छन्। यो युरोपकै ठूलो परमाणु प्लान्ट हो।
यसैबीच, युक्रेनको समुद्री तटमा भएको विष्फोटपछि एक मालवाहक पानीजहाज डुबेको छ। उक्त पानीजहाज इस्टोनियास्थित भिस्टा सिपिङ एजेन्सीको स्वामित्त्वमा छ। पानीजहाजका चालक दलका दुई र अन्य चारजनालाई उद्धार गरिएको छ।
उक्त जहाज धेरै दिनदेखि युक्रेनको ओडेसानजिक समुद्री तटमा खडा थियो। ओडेसालाई नियन्त्रणमा लिन रुसले समुद्री तटमा आफ्ना युद्धपोत पठाउने तयारी गरिरहेको छ। करिब १० लाख जनसंख्या रहेको ओडेसा एक ठूलो समुद्री बन्दरगाह शहर पनि हो।