काठमाडौं- संसारभर ८ मध्ये १ व्यक्ति मोटोपनबाट ग्रसित छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार संसारभर १ अर्बभन्दा बढी मोटोपन अर्थात् शरीरमा बोसोको समस्याबाट ग्रसित छन्।
सन् १९९० को तुलनामा पछिल्ला वर्षमा मोटोपनको समस्या दोब्बर भएको छ। विगतमा वयस्क व्यक्तिमा मोटोपनको समस्या बढी थियो। पछिल्ला वर्षमा भने ५ देखि १९ वर्षका बालबालिका र किशोर-किशोरीमा पनि मोटोपनको समस्या चर्को देखिएको छ। र, बालबालिका र किशोर-किशोरीमा मोटोपनको समस्या चार गुणा बढेको छ।
सन् २०२२ मा मोटोपनको उच्चतम संयुक्त दरवाला देशहरूमा प्रशान्त र क्यारेबियन टापुका मुलुकहरू देखिएका छन्। मध्यपूर्व अर्थात् खाडी मुलुकहरू र उत्तरी अफ्रिकी देशहरूमा पनि मोटोपनको समस्या बढी देखिएको छ।
मोटोपन घटाउन स्वस्थ भोजन र सक्रिय रहनु हो, जुन सबैका लागि सहज उपाय होइन। कतिपय स्थानमा पौष्टिक भोजन प्राप्त गर्न शारीरिक गतिविधिका लागि सुरक्षित स्थानका विकल्पहरू सीमित छन्।
मोटोपनबाट बच्न यी हुन् उपाय
– पहिलो दिनदेखि नै स्वस्थ अभ्यास शुरु गर्नूस्। बालबालिकालाई स्तनपानमा जोड दिनू्स्।
– सरकारहरूले बालबालिकाका लागि हानिकारक पेय र खाद्य पदार्थको मार्केटिङको नियमन गर्नु आवश्यक देखिएको छ।
– स्कुल तहमा भोजन र पोषण नियम बनाउनु अनिवार्य देखिएको छ। हाई फ्याट, अत्यधिक चिनी र नूनयुक्त खानेकुरा बिक्रीमा प्रतिबन्ध आवश्यक छ।
– स्वस्थ आहारालाई बढावा दिन सरकारहरूले मूल्य निर्धारण नीति अपनाउनु आवश्यक छ।
– पोषणका मापदण्डहरू लागू गर्न आवश्यक देखिएको छ।
– स्वस्थ आहार र व्यायामका लागि सार्वजनिक शिक्षा र जनचेतना जगाउनु आवश्यक छ।
– स्कुलहरूमा शारीरिक गतिविधिका मानक तयार पार्नु अनिवार्य भएको छ।
– प्राथमिक हेल्थ केयरमा मोटोपन रोकथामका लागि व्यवस्थापन सेवाहरूमा जोड दिनु अत्यावश्यक छ।