काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।
केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर नयाँ गठबन्धन बनेसंगै मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेको जनाएका छन।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल छन। ती दुबै मन्त्रालय अब आफ्नो मातहतमा रहने मुख्यमन्त्री शाहले बताए।
मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन्।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एसकाे समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ। साेही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ।
