काठमाडौं– दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ। विश्व श्रवण दिवसको अवसरमा आइतबार काठमाडौंमा सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल)ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताए।
“नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उनले भने, “भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ।” डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ। ३५ डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ। नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उनले बताए। विश्वमा करिब ४६ करोड मानिसलाई बहिरोपनको समस्या छ।
बहिरोपन हुनुका कारण
गर्भमा रहेको बेला आमालाई कुनै कडा खालको रोग लाग्नु, जन्मदा कम तौलको बच्चा जन्मनु वा जन्मदा नरुने बच्चामा बहिरोपनको समस्या देखा पर्ने चिकित्सक बताउँछन्। समय नपुगेर जन्मिएका बच्चामा, जन्मिदा कमलपित्त भएका वा जन्मिदै बहिरोपनको समस्या पनि देखिने वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले बताए।
बच्चालाई जन्मिदै सघन उपचार कक्ष (आईसीयु) वा भेन्टिलेटरमा राखेर कुनै उपचार गर्नुपरेमा कान पाक्ने, कानको जालीमा पानी जम्ने वा पिप आउनेलगायत समस्या आउने सम्भावना भएर बहिरोपन हुन सक्ने उनले बताए।
क्यान्सर, क्षयरोगको औषधि प्रयोग गर्दा पनि कानमा असर गर्दछ। ती औषधि खाँदा पनि कान सुन्ने क्षमता हस आउँछ।
अहिले ध्वनी प्रदूषणको कारणले पनि बहिरोपनको समस्या हुने गरेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले बताए। उनले कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको बताए।
ठूलोठूलो आवाजमा काम गर्ने, लामो समयसम्म गीत ठूलो आवाजमा सुन्ने, धेरै समयसम्म कानमा इयरफोन राख्ने, मोबाइलमा धेरैबेर कुरा गर्नेलगायत कारणले पनि बहिरोपनको समस्या हुने गरेको छ।
वरिष्ठ नाक, नाक, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले सन् २०१८ मा गरिएको अध्ययनमा धेरै हल्ला हुने ठाउँ कलङ्की, रत्नपार्कमा बहिरोपनको समस्या देखिएको बताए। ती ठाउँमा लामो समयसम्म बस्ने मानिसमा बहिरोपनको समस्या देखिएको थियो।
बहिरोपनबाट बच्ने उपाय
.
“कुनै पनि सङ्क्रमणबाट कानलाई बचाउनुपर्दछ। कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ। .कानलाई चोटपटकबाट बचाउनुपर्छ। कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हुँदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ”, डा न्यौपानेले भने।
बच्चामा सुनाइसम्बन्धी शङ्का लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्ने उनले सुझाव दिए। कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्न नहुने, गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्न नहुने र गर्नेपरेमा चिकित्सकको सल्लाह लिनुपर्ने, गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन नगर्नेलगायत उपाय अपनाउँदा बच्चामा कानसम्बन्धी समस्याको जोखिम कम हुने उनले बताए।
सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग नगर्ने, गाडीको हर्न निषेध गरिएका ठाउँमा चर्को हर्न नबजाउने, मोबाइल वा हेडफोन धेरै समयसम्म प्रयोग नगर्ने, कलकारखानामा काम गर्ने व्यक्तिले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउनेलगायत उपाय अपनाउन सकिने चिकित्सकको भनाइ छ।