मुम्बई– बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ र दक्षिण भारतीय अभिनेता प्रभासको सिनेमा ‘सालार’को रिलिज मिति एक दिन फरक थियो। तर, आम्दानीको मामिलामा ‘सालार’ले ‘डंकी’लाई उछिनेको छ। ‘डंकी’ २१ डिसेम्बर र ‘सालार’ २२ डिसेम्बरमा रिलिज भएका थिए।
दुवै फिल्मका निर्माताहरूले तीन दिनको कमाइको आँकडा सार्वजनिक गरेका छन्। ‘डंकी’को निर्माता कम्पनी ‘रेड चिलिज इन्टरटेनमेन्ट’ले आइतबारसम्म आफ्नो फिल्मले १५७ करोड भारतीय रुपैयाँ आम्दानी गरेको जनाएको छ। यो विश्वव्यापी कमाइ हो।
बक्स अफिससँग जोडिएको आँकडा सार्वजनिक गर्दै आएको वेबसाइट ‘सेकल्निक’का अनुसार ‘डंकी’ले भारतका सबै भाषाहरूमा ३१ करोड रुपैयाँ आम्दानी गरेको छ।
यस्तै, ‘सालार’को आधिकारिक ह्यान्डलबाट जारी आँकडाअनुसार शुक्रबारदेखि आइतबारसम्म उक्त फिल्मले संसारभरबाट ४०२ करोड भारु कमाएको छ। ‘सेकल्निक’का अनुसार ‘सालार’ले तीन दिनमा भारतमा २०९ करोड भारु कमाएको छ।
यसै वर्ष शाहरुखका फिल्म ‘पठान’ र ‘जवान’ले प्रशस्त आम्दानी गरेका थिए। ‘डंकी’बाट भने अपेक्षाकृत कमाइ गर्न नसक्ने आकलन गरिएको छ। समीक्षकहरूले ‘डंकी’ र ‘सालार’ दुवै फिल्मलाई राम्रो स्टार दिएका छैनन्।