काठमाडौं- कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ। भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीं केमिकलले पनि निमोनिया हुन्छ।
यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थी, कोषिकाहरू सुन्निए भने निमोनिया हुन्छ। ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्वायर, भेन्टिलेटर एसोसिएटेटगायत निमोनियाका धेरै प्रकार हुन्छन्।
जोखिममा कस्ता व्यक्ति ?
निमोनियाको जोखिम रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा ज्यादा हुन्छ। बालबालिका, बढी उमेरका व्यक्ति तथा दीर्घरोगीहरूको प्रतिरोधी क्षमता कम हुन्छ। चुरोट खाने, धुवाँधुलोमा काम गर्ने व्यक्तिहरू पनि निमोनियाको जोखिममा हुन्छन्। त्यस्ता व्यक्तिको फोक्सोमा ‘सेल्फ क्लियरेन्स मेकानिजम ह्याम्पर’ हुन्छ। भित्रभित्रै फोक्सो ड्यामेज हुन सक्छ।

यस्ता समस्या देखिन सक्छन्
हाम्रो शरीरमा दाहिने र देब्रे गरी दुईवटा फोक्सो हुन्छ। फोक्सो राम्रो अवस्थामा छ भने श्वासप्रश्वासमा समस्या हुँदैन। फोक्सोमा संक्रमण भयो भने समस्या देखिन्छ। संक्रमण बढ्दै गएर निमोनिया हुन सक्छ। रगतमार्फत निमोनियाको संक्रमण शरीरका सम्पूर्ण भागमा फैलियो भने गम्भीर अवस्था निम्तिन्छ।
हाम्रो श्वासनलीभित्र स-साना सिलिया हुन्छन्, जसले जीवाणुहरूलाई तानेर खकार र सिँगानका माध्यमबाट बाहिर फाल्छन्। गर्मीको तुलनामा जाडोमा यी सिलियाहरू कम सक्रिय हुन्छन्। चिसोले गर्दा सिलिया फ्रिज भएर बस्छन्। त्यही कारण फोक्सोको संक्रमण ज्यादा हुन्छ। जाडो समयमा पानी कम पर्छ र धुलो धेरै उड्छ। त्यही कारण प्रदूषण धेरै हुन्छ। सावधानी अपनाइएन भने धुलोको असर फोक्सोमा पर्न सक्छ।
के गर्ने ?
– न्यानो भएर बस्ने, न्यानो कपडा लगाउने
– स्टिम लिने
– मनतातो पानीले मुख कुल्ला गर्ने
– खानपानमा ध्यान दिने
– चिसो चिज नखाने
– कुनै खानाको एलर्जी छ भने त्यस्ता खानेकुरा नखाने
– बर्सेनि रुघाखोकीको खोप लगाउने
– निमोनियाको खोप लगाउने (यो खोप पाँच वर्षमा एकपटक लगाइन्छ)
– धूम्रपान नगर्ने
थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।
(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग कुराकानीमा आधारित)