काठमाडौं– छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले आज ट्रफी सार्वजनिक गर्दै पौष ६ गतेदेखि आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा स्टार सिटी युवा क्लब धनगढी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति बिच हुने क्लबका महासचिव ललित मिश्रले जानकारी दिए।
प्रतियोगितालाई दुई चरणमा बिभाजन गरि खेलाइने महासचिव मिश्रले बताए। उनले समुह ‘ए’ मा स्टार सिटी, पुर्नवास नगरपालिका खेलकुद विकास समिति, टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, भारतको सिएफसी क्लब कोलकाता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब छन्।
त्यस्तै समुह ‘बी’ मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन्।

प्रतियोगिताको विजेताले ट्रफी संगै ५ लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका महासचिव मिश्रले बताए।
प्रतियोगिताको उदघाटन सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय झपट बहादुर साउदले गर्ने तय भएको आयोजले जानकारी दिएको छ।
यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ। प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।