प्रतिनिधिसभामा टेबल भएको एमसीसी पारित गर्ने विषयले राजनीतिक घटनाक्रम छिटोछिटो परिवर्तन भइरहेका छन्।
यही मेसोमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भवनस्थित एमालेको संसदीय दलकै कार्यालयमा पुगेर भेट गरे। प्रधानमन्त्री देउवा आएपछि एमाले अध्यक्ष ओली देउवा बसेकै सोफामा आएर बसे। त्यतिबेला कांग्रेस र एमालेका अन्य नेता पनि कार्यकक्षमा पुगेका थिए।
अन्य नेताहरू कार्यकक्षबाट बाहिरिएर गएपछि मात्र ओलीले आफ्नो संसदीय दलका नेताको कुर्सी सम्हाले र प्रधानमन्त्री देउवासँग एक्लाएक्लै वार्ता गरे।
प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षबाट बाहिरिनासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीसँग भेट्न गए। प्रचण्डसँग भेट्न भने ओलीले उनी बसेकै सोफामा आउने कष्ट गरेनन्, संसदीय दलकै नेताको कुसीमा बसेर उनले दुवै पार्टीका नेताहरूसँगै प्रचण्डसँग कुरा गरे।
यी दुई भेटलाई अर्थपूर्ण रूपमा लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। खासगरी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत पाँच दलीय गठबन्धन एमसीसीमा समर्थन र विरोधका कारण टुट्ने डिलमा पुगेको छ। यही मेसोमा कांग्रेसले एमालेसँग छलफललाई तीव्रता दिएको छ।
कांग्रेस र एमालेका कतिपय नेताहरूको भनाइ मान्ने हो भने बिहीबार रातिसम्ममा पाँचदलीइ गठबन्धनको भविष्यबारे फैसला हुँदैछ। एमालेले छिटो चुनावमा जाने शर्तमा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई बाहिरबाट समर्थन दिएर अगाडि बढ्ने सम्भावना बढेको उनीहरू बताउँछन्। त्यसो भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दल सत्ताबाट बाहिरिने छन्। र, शुक्रबार बिहानदेखि अर्कै राजनीतिक परिघटनाबाट मुलुक अगाडि बढ्ने सम्भावनाबारे आकलन गर्न थालिएको छ।
कांग्रेस महामन्त्री गगन थापाले त्यसैतर्फ संकेत गर्दै सञ्चार माध्यमहरूसँग गठबन्धन अगाडि जाने अवस्था सकिँदै गएको टिप्पणी गरेका छन्।