काठमाडौ- कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रवार सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो। समुह ’ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता ग¥यो। जितसंगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। युथ अफ टिकापुरका गौतम केसी बलिंगमा प्लेयर अफ द म्याच घोषित भए। यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो।
आजको दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफांटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो। धनगढी स्पोर्ट्स क्लबका प्रनित थापाले अविजित अर्धशतकीय इनिङ खेले। थापा उक्त खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए। यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो।
प्रतियोगिता अन्तर्गत भोेलि सातौँ दिन शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ। लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।
Advertisement