लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले मंगलबार पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरे। उनीसँगै संविधानसभाका सदस्य डा. विजयकुमार सिंहसहितका नेताहरू पनि लोसपा परित्याग गरी तमलोपा प्रवेश गरेका छन्।
मधेश आन्दोलनपछि महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भएको थियो। पछि तत्कालीन ६ वटा मधेशकेन्द्रित दलको एकीकरणबाट राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो। त्यसपछि राजपासहित एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो।
जसपाबाट विभाजित भएर बनेको लोसपामा पनि विवाद आएपछि पुरानै तमलोपाको नाम ब्युँताइएको हो।
राजपा गठनपछि नै निर्वाचन आयोगले तमलोपा नाम ‘फ्रिज’ गरेको थियो। जसपाभित्र विवाद चलिरहेकै बेला धनुषाका रविशंकरलाल कर्णले आफ्नो नेतृत्वमा तमलोपा दर्ता गराएका थिए।
लोकतान्त्रिक विधिबाट सञ्चालन हुन नसकेकाले लोसपा परित्याग गरेको लालको भनाइ छ। मधेश र क्षेत्रीय मुद्दाको वकालत गर्ने कुनै पार्टी नभएकाले तमलोपा ब्युँताइएको उनले बताएका छन्।
लाल र सिंहसँगै धनुषाका धिरेन्द्रबहादुर सिंह, रामजी राय, उमेश मण्डल, सतीशलाल कर्णलगायत नेता पनि लोसपा त्यागेर तमलोपा प्रवेश गरेका छन्।
उता, प्रतिनिधिसभामा टेबल भएको अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) अनुमोदनमा साथ दिने कि विपक्षमा रहने विवाद बढ्दै जाँदा अर्को मधेशकेन्द्रित दल जसपा पनि विभाजनको संघारमा पुगेको छ। विवादकै बीच जसपा एमसीसीबारे अनिर्णयको बन्दी बनेको छ।
अध्यक्ष उपेन्द्र यादव र उनी पक्षधर नेताले एमसीसीबारे मुख खोलेका छैनन्। संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनी पक्षका नेताहरू एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा खुलेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल प्रारम्भ गरी १६ फागुनभित्र एमसिसी अनुमोदन गराइसक्ने सरकारको रणनीति छ। जसपाले एमसीसीबारे निर्णय गर्न शुक्रबार बिहान केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ। केही गरी एमसीसीको पक्ष र विपक्षमा नेताहरू उभिए भने जसपा पनि फुटको दिशातर्फ उद्यत हुने आकलन गर्न थालिएको छ।
पछिल्लो समय जसपामा दुई या तीन अध्यक्षको अभ्यासको वकालत डा. भट्टराईले गर्न थालेपछि उक्त पार्टी आन्तरिक किचलोमा फसेको छ। दुई या तीन अध्यक्ष नभई एकल अध्यक्षको पक्षमा यादव पक्ष खुलेको छ। विधान अधिवेशन बोलाएर एकल अध्यक्षको प्रावधान पारित गर्ने रणनीतिमा यादव पक्ष देखिन्छ।
डा. भट्टराई पक्षले बुधबार तीनकुनेस्थित एक होटलमा अलग्गै भेलासमेत गरेको छ। यसलाई पार्टी विभाजनको संकेतका रूपमा बुझ्न थालिएको छ। यसअघि राष्ट्रियसभा निर्वाचनमा टिकट वितरणलाई लिएर डा. भट्टराई पक्ष अध्यक्ष यादवसँग खुशी छैन। त्यसैले जसपा पनि फुटको डिलतिर पुग्न थालेको आकलन गर्न थालिएको छ।