साझा यातायातले विद्युतीय प्रविधिबाट सञ्चालन हुने ४० वटा ठूला बस भित्र्याउँदैछ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
दीक्षितका अनुसार ४० मध्ये तीनवटा ठूला विद्युतीय बस आगामी चैतभित्र काठमाडौं ल्याइसक्ने तयारी छ। काठमाडौं उपत्यकाका सडक÷रुटमा तिनको प्रशिक्षणमा सफलतापछि बाँकी विद्युतीय बस ल्याइने दीक्षितले जनाएका छन्। अहिले चीनको नयान्जिङस्थित कारखानामा ती बस तयार हुँदै छन्।
‘बिजुली यातायात शुरु गर्न हामी प्रतीक्षामा छौँ,’ दीक्षितले लेखेका छन्, ‘लुम्बिनी विकास कोषले मगाएका तीनवटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्षअघि। उदघाटन पनि भयो तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन। बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उदघाटन गरेका थियौँ, त्यतिबेला। तर, अड्को भयो। यसपालि साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौँ।’