काठमाडौं- भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीस्थित सडकमा बा.४ ख ७३५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सुडालस्थित बिएम इँटाभट्टामा काम गर्ने काभ्रे महाभारत गाउँपालिका-२ घर भएका सूर्य बहादुर मगरकी छोरी ८ वर्षीया बिनिता मगरको आइतबार बिहान मृत्यु भएको छ । गएराति उक्त टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी बिनिताको ख्वप अस्पताल च्यामासिंह हुँदै मध्यपुर अस्पताल ठिमीमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा धनुषाधाम नगरपालिका-६ मालटोलस्थित सडकमा ज.१२ प १६७५ नम्बरको मोटरसाइकल र बा.७४ प ७५३९ नम्बरको मोटरसाइकल शनिबार साँझ एक-आपसमा ठक्कर खाँदा ज.१२ प १६७५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर गोले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली भजनी नगरपालिका-३ स्थित सडकमा सु.प.प्र.०१००८प ४७२३ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरूको मृत्यु भएको छ । दुर्घटना भई वेहोश भएको अवस्थामा फेला परेका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी मटिहानी नगरपालिका-३ बर्दाहास्थित सडकमा मटिहानीबाट धनुषातर्फ जाँदै गरेको ज.१ त ८३२५ नम्बरको ट्याक्टरको टेलरबाट खसेर धनुषा लक्षिमिनिया गाउँपालिका-७ भगवतीपुर बस्ने ४५ वर्षीय पुजन मण्डलको शनिबार राति मृत्यु भएको छ । टेलरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित भित्री सडकमा ना.६३ प ७४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१५ बस्ने २५ वर्षीय विक्रम वाईबाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।