काठमाडौं- जुम्ला तातोपानी गाउँपालिका-४ गिरीखोला बस्ने २६ वर्षीय गोविन्द रोकायको आगो ताप्नेक्रममा जलेर शुक्रबार बिहान मृत्यु भएको छ । रानीखोला जंगलमा बिहीबार दिउँसो बाख्रा चराउन गएको अवस्थामा आगो ताप्ने क्रममा शरीर जलेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी धरान उपमहानगरपालिका-११ सुनौलोमार्ग बस्ने शान्ति तामाङको घरमा करेन्ट सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा घर, काठपात, भाँडावर्तन लगायतका सामान जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका-१२ बुद्धचोक बस्ने ५२ वर्षीय विष्णु पराजुलीको घरमा करेन्ट सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा घर, नगद तथा सुन जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा हल्दिबारी गाउँपालिका-२ भेलागुढी सिमसारस्थित पिपलको फेदमा रोकी राखेको भद्रपुर नगरपालिका-७ अन्जली मोड बस्ने सुनिल गणेशको मे.२ प ९६९६ नम्बरको मोटरसाइकलमा बिहीबार दिउँसो आगजनी हुँदा जलेर नष्ट भएको छ । सोही ठाउँ बस्ने ३ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।