अमेरिकी मिलेनियम कर्पोरेसनको ‘एमसीसी कम्प्याक्ट’ संघीय संसदमा टेबल र पारित गर्ने विषयले पाँच दलीय गठबन्धन टुट्ने डिलमा पुगेको छ। यही मेसोमा कांग्रेस र प्रमुख विपक्षी दल एमाले नजिकिँदै गएका छन्।
बुधबार एमसीसी संसदमा टेबल गर्न नदिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल मात्र पनि गरिए सरकारबाट बाहिरिने अडान दोहो¥याए। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो पार्टीको बैठक (७ फागुन)सम्म पर्खिन आग्रह गरे।
तर, एमसीसी पारित गर्नुपर्ने समयसीमा नजिकिएकाले प्रधानमन्त्री शेरबहादुर देउवा हतारोमा देखिन्छन्। र, जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा अडिग छन्। यही मेसोमा पाँच दलीय सत्ता गठबन्धन टुट्ने लगभग निश्चित देखिएको छ। किनकि, एमसीसीमा आफ्नो अडान छाडेर प्रचण्ड र नेपाल ‘यू–टर्न’ हुने सम्भावना न्यून देखिन्छ।
त्यसैले हो, गठबन्धन बैठकलगत्तै एमाले अध्यक्ष केपी ओलीसँग भेट्न प्रधानमन्त्री देउवा भक्तपुर बालकोटस्थित उनको निवासमा पुगेका छन्। अनौठो के भने ओलीलाई भेट्न देउवासहित उनकी पत्नी डा. आरजु राणा पनि पुगेकी थिइन्। एमसीसीबारे अलि प्रष्ट दृष्टिकोण भएकाले पत्नी आरजुलाई पनि लिएर देउवा ओलीसँग भलाकुसारीमा पुगेका हुन सक्छन्।
एक एमाले सचिवका अनुसार एमसीसीमार्फत सहकार्य अगाडि बढे त्यो सत्ता साझेदारीसम्म पनि पुग्न सक्छ। कांग्रेस र एमालेबीच दुईखाले सहकार्य हुन सक्ने उनी देख्छन्। पहिलो– एमसीसी पारित गर्दै एमाले पनि सरकारमा सहभागी हुन्छ। दोस्रो– सरकारलाई बाहिरबाट समर्थन दिएर चुनावको सुनिश्चितता पनि खोजिन सक्छ।
प्रचण्ड र नेपालले आफ्नो कुरा नमान्ने प्रष्ट देखिएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग भेट्न उनको भक्तपुर बालकोटस्थित निवास पुगेका हुन्। गठबन्धन जोगाउन बीचको मार्ग लगभग समाप्त भएकाले देउवाले ओलीसँग सहकार्य गरेर एमसीसी पारित गर्ने र सरकार जोगाउने रणनीति बनाएको एक कांग्रेस नेता पनि बताउँछन्।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की र कांग्रेस नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेटेर देउवाको सन्देश सुनाएका थिए। प्रधानमन्त्री देउवा आफैँ एमाले उपाध्यक्ष विष्णु पौडेलसँग संवादमा थिए।
एमाले अध्यक्ष ओलीका लागि पनि यो नयाँ राजनीतिक विकास क्रममा कर्णप्रिय लागेको हुनुपर्छ। किनकि, उनी अहिलेको सत्ता गठबन्धन जसरी पनि भत्काउने रणनीतिमा शुरुदेखि नै छन्। र, अहिले एमसीसीको फन्दामा परिसकेको छ, सत्ता गठबन्धन। प्रचण्ड र नेपालले ‘यू–टर्न’ रोज्दामा मात्र यो गठबन्धन जोगिने देखिएको छ। अन्यथा, शुक्रबार नै एमसीसी टेबल हुने, सत्ता गठबन्धन टुट्ने र सरकारलाई एमालेले समर्थन दिने सम्भावना बढ्दै गएको छ।