काठमाडौं- एक साताअघि धरान उपमहानगरपालिका-११ मा गोरुको मासु खाँदै गरेको भिडियो भाइरल भएको थियो। त्यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। सो घटनापछि त्यहाँको सदभाव खल्बलिने सम्भावना भएको भन्दै स्थानीय प्रशासनले ८ भदौमा र्याली वा भेला नगर्न निषेधाज्ञा जारी गरेको थियो।
यसै सन्दर्भमा ९ भदौमा गौ हत्याविरुद्ध सदभाव र्याली आयोजना गरिएको थियो। विभिन्न जिल्लाबाट इटहरीमा भेला भई धरानतिर बढेको विशाल र्यालीलाई प्रहरीले सुनसरीको तरहराबाट अघि बढ्नबाट रोकेको थियो। त्यसका लागि ९ भदौ बिहानैदेखि इटहरीलाई धरानसँग जोड्ने सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
९ भदौदेखि सोही र्यालीको तस्बिर र भिडियो भन्दै एउटा सामग्री सामाजिक सञ्जालमा भाइरल छ। यो सामग्री एक्स, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा फैलिएको छ। कतिपयले इटहरीमा भएको र्यालीको तस्बिरसहित उक्त भिडियो फोटो सेयर गरेका छन् भने कतिले धरानको जनलहर भन्दै फोटो पोस्ट गरेका छन्। भाइरल फोटोमा गेरु रंगका पोशाक लगाएका सयौंको संख्यामा र्यालीमा सहभागी भएको देखिन्छ। उक्त तस्बिरमा ध्वजापताका देखिन्छ भने सडकछेउमा आकाशे नीलो रंगको पक्की घर प्रष्ट देखिन्छ।
नेपाल चेकको तथ्य जाँचमा त्यो सामग्री दुई महिनाअघि वीरगञ्जमा भएको र्यालीको फेला परेको छ।
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौं। त्यसक्रममा हामीले हमार वीरगञ्ज नामक अनलाइनले सोही तस्बिर ५ असारमा प्रकाशित भएको पायौं। उक्त समाचारमा सो र्याली वीरगञ्जको माइस्थानस्थित गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उल्लेख छ। समाचारमा उक्त र्यालीमा पर्साका साथै छिमेकी बारा, रौतहट अनि भारतबाट समेत भक्तजन सहभागी भएको उल्लेख छ।
त्यसको थप पुष्टि गर्न हामीले स्थानीय अनलाइन र समाचार पत्रका साइटमा उक्त र्यालीसम्बन्धी समाचार खोज्यौं। वीरगञ्ज सञ्जाल नामक अनलाइनमा पनि सो फोटो वीरगञ्जमा दुई महिनाअघिको रथयात्राको भएको जनाइएको छ। यस्तै, वीरगञ्जको प्रतीक डेलीमा पनि सो रथयात्राको समाचार प्रकाशित छ।
हामीले गरेको तथ्य जाँचमा उक्त सामग्री गत ९ भदौमा धरानमा आयोजना गरिएको धार्मिक र्यालीको नभई दुई महिनाअघि वीरगञ्जमा भएको रथयात्राको भएको फेला परेको छ। तसर्थ, सामाजिक सञ्जालमा भाइरल उक्त सामग्री भ्रामक छ।

यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो