सुनसरी- साहित्यिक क्षेत्र लागेका नयाँ पुस्ताका युवा, युवतीहरूको जमातले
चतरा साहित्यिक मञ्चको अध्यक्षसहित सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
भेलाले कवियत्री दीपा मग्रातिको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ। अध्यक्षमा मग्राती, उपाध्यक्ष सुजन बस्नेत, सचिव वर्षा भण्डारी, सहसचिव विमला श्रेष्ठ, कोषाध्यक्ष सुनिता राई तथा सदस्यहरू सुगम घिमिरे र तीर्थराज निरौला छन्।
हालै चतरा साहित्यिक मञ्च गठन गरी बराहक्षेत्र नगरपालिका-३ का प्रकाश राई दिप्सालीले नगरको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंद्वारा आयोजित ६६ औ राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागिता जनाउँदै विजेता बनेका थिए। साहित्यकार, गीतकार, कवि दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपाली भाषीबीच उच्च बनाएकामा मूल्यांकन गर्दै चतरा साहित्यिक मञ्चले २३ असारमा नगद १० हजार १ सय रुपैयाँसहित सम्मान पत्रले सम्मान गर्न लागिएको अध्यक्ष मग्रातीले जानकारी दिइन्।

बराहक्षेत्रको मात्र नभई सिंगो कोशी प्रदेशको साहित्यिक तथा कला क्षेत्रको प्रवर्द्धन र संरक्षणमा लाग्ने उनले बताइन्। भनिन्, ‘सबैको साथ सहयोग, समर्थन भयो भने राज्य र स्थानीय निकायले चिन्न नसकेका बराहक्षेत्रमा रहेर ओझेलमा परेका र लुकेका प्रतिभाहरूको उच्च मूल्यांकन र कदर गर्दै अगाडि ल्याउने र एकपछि अर्को गर्दै सम्मान गर्दै मञ्च अगाडि बढ्ने छ।’ चतरा साहित्यिक मञ्चले कवि दिप्सालीलाई पहिलोचोटी सम्मान गर्दैछ।
सम्मान कार्यक्रममा चर्चित साहित्यकार प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारे चर्चा र परिचर्चा गर्ने छन्।
कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य उत्कृष्ट, रोचक कविताहरू प्रस्तुत गर्ने छन्। कवि राज माङ्लाकले दिप्सालीका कविताबारेमा टिप्पणी गर्ने छन्।
कवियत्री छबिना लुंगेली मगर, विमला श्रेष्ठ, कवि आर्यन निरौलाले कविता वाचन गर्ने छन् भने चर्चित बाल गायक राजेश परियारको सुमधुर धुनले तथा नायुमा राईको आकर्षण नृत्यले कार्यक्रमलाई थप रोचक बनाउने छन् कोषाध्यक्ष सुनिता राईले जानकारी दिइन्।