सुनसरी- ६६ औं राष्ट्रिय कविता महोत्सवका विजेता कवि प्रकाश राई दिप्सालीलाई चतरामा नगदसहित सम्मान गरिने भएको छ।
बराहक्षेत्र नगरपालिका-३ निवासी दिप्सालीले बराहक्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी जनाएर विजेता बनेका थिए।
दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपाली भाषीबीच उच्च बनाएकाले बराहक्षेत्र-२ स्थित चतरा साहित्यिक मञ्चले २३ असारमा सम्मान गर्न लागिएको कवियत्री दीपा मग्रातीले जानकारी दिइन्।
उनका अनुसार दिप्सालीलाई नगद १० हजार १०० रुपैयाँ र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिने छ। यसअघि पनि बराहक्षेत्र-३ वडा कार्यालय तथा अन्य सामाजिक संघसंस्थाले पनि सम्मान गरेका थिए।
चर्चित कवि प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारेमा चर्चा र परिचर्चा गर्ने छन्।
उक्त कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य उत्कृष्ट, रोचक कविताहरू प्रस्तुत गर्ने छन्। कवि राज माङ्लाकले दिप्सालीका कविताबारेमा टिप्पणी गर्ने छन्।
कवियत्री छबिना लुंगेली मगर, विमला श्रेष्ठ, कवि आर्यन निरौलासमेतले कविता वाचन गर्दै कार्यक्रमलाई थप रोचक बनाउने छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औं राष्ट्रिय कविता महोत्सव २०८० मा २५ कविता मध्ये कवि प्रकाश दिप्साली उत्कृष्ट १० मा पर्दै विजेता भएका थिए।
स्वर्णिम साहित्य समाजका अध्यक्ष रहेर लामो समयदेखि साहित्य सिर्जनामा समर्पित उनी साहित्यिक गतिविधि सक्रिय छन्।
६६ औं राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट १० कवि, कवियत्रीहरू
उमेश पुन-काठमाडौं/छोरी, सिमाना र देश
कृपा करुणा पोखरेल-सुनसरी/रक्तिम कथा
जीवन आरोही- उदयपुर/प्रश्नहरूको विज्ञप्ति
तीर्थराज विश्वकर्मा-सुनसरी/कविले के सम्झियो ?
नवीन अभिलाषी-बाँके/भेरी अभिशप्त बगिरहेछ
प्रकाश दिप्साली राई-सुनसरी/नौरानको नाम
राधिका कल्पित-काठमाडौं/परिचयपत्र
नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी-दार्चुला/मुई गोठ नाइँ भान्या हूँ
पूर्णानन्द ओझा-डोटी/सन्नीको मान्सा तथा
खाम मगरभाषामा टंकबहादुर झाँक्री मगर (वैरागी समीप)/हुन्के वे बड्डा