सुनसरी- जिल्लाको बराहक्षेत्र १ स्थित भवानी स्थानमा रहेको ४०० वर्ष पुरानो ऐतिहासिक, पुरातात्विक मानिएको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको समाचार पटक–पटक नेपाली हेडलाइनमा प्रकाशित भएपछि नेपाली सेनाले चासो लिँदै उक्त स्थलको अवलोकन तथा निरीक्षण गरेको छ।
नेपाली सेनाले देशका सामारिक महत्त्व राख्ने ऐतिहासिक, पुरातात्विक महत्त्वका स्थलहरूको संरक्षण गर्न देशभरका सैनिक कार्यालयहरूलाई निर्देशन दिएको थियो।
उक्त निर्देशनअनुसार पूर्वी पृतना हेडक्वार्टर इटहरीले ऐतिहासिक, पुरातात्विक महत्त्वको सूर्यकुण्डस्थित गढी क्षेत्रबारे चासो लिँदै त्यहाँको अध्ययन थालेको वडा नम्बर १ का वडाध्यक्ष किसन थापा मगरले जानकारी दिए।
नेपाल एकीकरण तथा बाइसे चौबीसे राज्य सञ्चालन हुँदा पुर्खाहरूले त्यतिबेला प्रयोग गरेका पदमार्ग, किल्ला र गढीहरू लोप हुँदै गएको र भावी पुस्तालाई त्यसको महत्त्वबारे जानकारी गराउने उद्देश्यले त्यस्ता क्षेत्रको संरक्षण, सम्बर्द्धनमा सेनाले चासो लिँदै आएको छ।
सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदल बारीस्थित लालकोट रंगमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) हाल आएर भूमाफियाको चपेटामा परी अतिक्रमणको हुँदै नष्ट हुने अवस्थामा पुगिरहेको थियो।
राजा लोहाङसेनको अवसानपछि हरिहर सेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा पाउन सकिन्छ। सो तथ्य साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’मा सेनहरूद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भ उल्लेख गरिएको छ।
लोहाङ सेनका नाति आफूलाई हिन्दूपति घोषणा गरेका हरिहर सेनको दरबारको भग्नावशेष अझै देख्न सकिन्छ। सो क्षेत्रलाई स्थानीय बासिन्दाले हिन्दूपति राजाको दरबार भन्ने गरेका छन्। भवानी स्थान गढी स्थापनाको ऐतिहासिक तथ्य पनि उपलब्ध छ।
इमानसिह चेम्जोङद्वारा लिखित विजयपुरको संक्षिप्त इतिहास, २०५९ मा समेत यहाँका प्रसंगहरू उल्लेख गरिएको पाइन्छ। यस्तै, ज्ञानमणि नेपालद्वारा लिखित ०५५ सालमा प्रकाशित ‘नेपाल निरुपण’मा समेत यहाँका तथ्य उल्लेख भएको स्थानीय अध्येता नवराज विष्ट र दुर्गा बस्नेत बताउँछन्।
साविक बराह क्षेत्र गाविस वडा न ९ र ८ को सामुदायिक वनको सीमा विवादका कारण भवानी थान मन्दिर संरक्षण समिति मातहत राखिएको सो क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन। भूमाफियाले गढी क्षेत्रका २३ वटा रुख काटी अतिक्रमण गरेका छन्। स्थानीय सरकारले पनि ऐतिहासिक दरबार, किल्ला र गढीको संरक्षणमा हालसम्म चासो देखाएको छैन।
कार्यान्वयन भएन भूउपयोग नियमावली
नेपाल सरकारको भूउपयोग ऐन २०७६ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी २३ जेठ ०७९ देखि लागू हुने गरी भूउपयोग नियमावली २०७९ जारी भएको छ। स्थानीय सरकारलाई भूउपयोग क्षेत्र वर्गीकरण गर्न निर्देशन दिए पनि पालिकाहरूले कार्यान्वयन गरेका छैनन्।
उक्त ऐनअनुसार स्थानीय सरकारले १० वटा विभिन्न क्षेत्र निर्धारण गर्नुपर्छ। त्यसमध्ये एउटा सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र पनि पर्छ। उक्त गढी क्षेत्र सुनसरीको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर)को उचाइमा छ।