सुनसरी- अविरल वर्षाका कारण पानीको सतह बढेपछि सप्तकोशी नदीमा सञ्चालित जेट बोटहरू बन्द भएका छन्।
कोशीमा पानीको बहाव बढेपछि पहाडी क्षेत्रबाट रुख बगाएर ल्याउने हुँदा जेट बोटले पानीको छाल र बहाव काट्न सक्दैनन्। सोही कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै वर्षाको समयमा जेट बोट बन्द गरिएको मरिन एन्ड रिसोर्ट जेटबोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए।
उनका अनुसार वर्षाभर जेट बोटहरू बन्द रहने छन्। वर्षा कम भएपछि २५ भदौमा परीक्षण गर्ने गरिएको छ। र, १ असोज विश्वकर्मा पूजापछि मात्र नियमित सेवामा जेट बोटलाई फर्काइन्छ।
जेट बोटले उदयपुर, भोजपुर र धनकुटाको सिमाना माइबेनीलगायत ठाउँहरूमा स्थानीय बासिन्दा, आन्तरिक र बाह्य पर्यटक तथा बराह क्षेत्र मन्दिर, त्रिवेणी, सिम्ले र किरातीहरूको आस्थाको केन्द्रविन्दु खुवालुङसम्म आउजाउ सहज बनाएका छन्।

बराहक्षेत्रको चतराघाटबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।
वर्षाको समयमा भने जेट बोट सञ्चालन नहुँदा स्थानीय बासिन्दालाई कष्टकर पैदल यात्रा गर्नुको विकल्प हुँदैन। बराहक्षेत्र मन्दिरबाट अकरे भिरको बाटो हुँदै पैदल यात्रा गर्दा करिब तीन घण्टामा मात्र सिम्लेसम्म पुग्न सकिन्छ। जेट बोटबाट यो यात्रा करिब १५ मिनटको मात्र हो।
सप्तकोशी नदीमा मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि र कोशी एडभेन्चरसहितले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालन गर्दै आएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाट सप्तकोशी नदी किनारदेखि कोप्चेसम्म हिउँदमा नियमित रूपमा जेट बोट सञ्चालनमा हुँदै आएको कोशी एडभेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले जानकारी दिए।