सुनसरी- बराहक्षेत्र नगरपालिका २ जब्दीका एक वृद्ध सप्तकोशीमा बेपत्ता भएको आशंकामा खोजी तीव्र बनाइएको छ।
करिब ६२ वर्षका पूर्णबहादुर खुलाल नदीमा डुबेको आशंकामा सशस्त्र प्रहरी बेस क्याम्प चतराको विपत तथा उद्धार टोलीले खोजी थालेको हो।
उनी मानसिक रोगी भएको र नियमित औषधि सेवन गरिरहेको परिवारजनले बताएका छन्।
आज बिहान करिब ५ बजे घरबाट निस्किएर हिँडेकामा दिउँसोसम्म नफर्केका कारण परिवारका सदस्यले उनको खोजी थालेका थिए। नदी किनारमा उनका कपडा भेटिएकाले उनी सप्तकोशीमा डुबेको आशंका गरिएको हो।
उनको खोजी तीव्र बनाइएको सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए। इलाका प्रहरी चतराका सई पृथ्वी कार्कीका अनुसार करिब बिहान करिब ११:४५ बजे उनी सप्तकोशीमा डुबेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बोटको सहायतामा खोजी गरिरहेका छन्। उनको खोजीमा बराहक्षेत्रका मेयर रमेश कार्की आफैं खटेका छन्।