काठमाडौं- म्याग्दी रघुगंगा गाउँपालिका-१ वेग औलस्थित सडकमा ग.१ ज ७२५१ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिप चालक रघुगंगा गाउँपालिका-१ बेग बस्ने ४० वर्षीय दुत बहादुर थापा सहित ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाग्लुङ बागलुङ नगरपालिका-१४ कालिगण्डकी कोरीडोर ठियुँघरस्थित सडकमा ध.१ त ३६० नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका नमुना गाउँ बस्ने ५५ वर्षीय शेर बहादुर बिक सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १ जनालाई कुश्मा पर्वत अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची भूमिकास्थान नगरपालिका-७ बरवासस्थित सडकमा लु.१ ज १७२६ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने दिपक नेपालीको छोरा ४ वर्षीय आयान नेपालीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु यशोधरा गाउँपालिका-५ सुठौलीस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने नवल यादवकी छोरी १२ वर्षीया सुमन यादवको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । सोही घटनाको विषयलाई स्थानीयले भारतबाट नेपालतर्फ आउँदै गरेको मालबाहक लहरी गाडीलाई तोडफोड एवं आगजनी गर्न खोज्दा प्रहरीले सम्झाई बुझाई गर्दा भिडले उल्टै प्रहरीमाथि ढुंगामुढा गर्दा ९ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । घाइते सबै जना जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।