सुनसरी- पानी अभाव भएका बस्तिलाई पिउने पानी उपलब्ध गराउने उद्देश्यले सुनसरी बराहक्षेत्रका जनप्रतिनिधि श्रमदान गर्न स्थानीय चावचा पुगेका छन्।
बराहक्षेत्र नगरपालिका-१ चावचामा वर्षौंदेखि खानेपानीको समस्या छ। त्यहाँका ३५ घरपरिवारले पिउने पानी अभाव झेल्दै आएका छन्।
आज बुधबार बराहक्षेत्रका मेयर रमेश कार्कीको नेतृत्वमा उपमेयर नन्दकुमारी राई, वडा नम्बर १ का अध्यक्ष किसान थापा मगरलगायत ट्र्याक्टरमा खानेपानीको पाइप लिएर चावचा पुगेका हुन्।

पानीको पाइप बोकेर चाबचा पुगेका बराहक्षेत्रका मेयर रमेश कार्की र उपमेयर नन्द कुमारी राई
उक्त गाउँलाई पानीको समस्याबाट मुक्त गर्ने उद्देश्यका साथ जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा श्रमदानमा पानीको मुहान दूधपानी खोला पुगेका छन्।
गाउँमा वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएकोमा पानी आउने भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएको तोया दाहालले बताए। चावचा गाउँबाट दूधपानी खोला करिब ३ किलोमिटर टाढा पर्छ। त्यहाँबाट पोलिथिनको पाइपमा पानी ल्याएर ट्यांकीमा जम्मा गरी वितरण गर्ने उद्देश्य छ।
बराहक्षेत्र नगरपालिका-१ चावचा, बागदल बारी, सिधुरे पुच्छर, सिल पाखालगायत टोलमा वर्षौंदेखि खानेपानीको समस्या रहिआएको छ।