काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदैछन्। उनले आजका लागि बोलाइएको प्रदेशसभा अधिवेशनमा विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभा बैठक ११ बजेका लागि बोलाइएको छ।
जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
१०४ सदस्यीय प्रदेशसभामा राउतलाई विश्वासको मत प्राप्त गर्न ५२ सांसदको समर्थन चाहिन्छ। जसमध्ये सभामुख र उपसभामुखसहित जसपा एक्लैको ३९ सांसद छन्।
प्रदेश २ प्रदेशसभामा कांग्रेसको १९, नेकपा (एकीकृत समाजवादी) का १३ र माओवादी केन्द्रका ८ सांसद छन्। प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको लोसपाबाहेक जसपा (सभामुख र उपसभामुख) बाहेक, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका सांसदहरूको संख्या जोड्दा ७७ पुग्छ। यो संख्या दुई तिहाइभन्दा बढी हुन्छ।