काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बिहीबारका लागि तय गरेको आफ्नो पक्षको केन्द्रीय कमिटी बैठकप्रति अध्यक्ष केपी ओली पक्षले आपत्ति जनाएको छ ।
ओली समूहका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै बिहीबार आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक नडाकिएको बताएका हुन् ।
‘एमाले केन्द्रीय कमिटीका नाममा २१ साउनमा बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङको विज्ञप्तिमा भनिएको छ, ‘२१ साउनमा एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँछु ।’
पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत हुने भएकाले त्यस्ता गतिविधिमा नलाग्न उनले आफ्नो समूहका कार्यकर्तालाई आग्रह गरेका छन् ।