काठमाडौं- पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका दुई प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
पाकिस्तानको सिन्ध प्रान्तको मुल्तान शहरको भ्रमणमा गएका राजदूत अधिकारीले त्यहाँस्थित निस्तार मेडिकल युनिभर्सिटीका उपकुलपति प्रा. डा. अहमद इजाज मसुद र बहाउद्दिन जकारिया युनिभर्सिटीका उपकुलपति प्रा. डा. मन्सुर अकबर कुन्डीसँग शिष्टाचार भेट गरेका हुन् ।
दुवै उपकुलपतिसँग नेपाल र पाकिस्तानबीच शैक्षिक क्षेत्रमा सहयोग र समन्वय बढाउने सम्भाव्यताबारे छलफल भएको राजदूत अधिकारीले जानकारी दिए । दुवै विश्वविद्यालयमा नेपाली छात्रछात्रा अध्ययनरत छन् ।

नेपाली छात्रछात्रालाई चिकित्सा शिक्षा प्रदान गर्दै उनीहरूको भलाइमा ध्यान दिएकामा राजदूत अधिकारीले दुवै उपकुलपतिलाई आभार प्रकट गरेका थिए । दुवैजनाले नेपाली विद्यार्थीहरूको मिहिनेत, अनुशासन र सिकाइमा गहिरो दिलचस्पीप्रति सराहना गरेका थिए ।
र, नेपाली विद्यार्थीहरूको ‘परफर्मेन्स’ तथा उनीहरू विश्वविद्यालयको हिस्सा बनेकामा दुवै उपकुलपतिले प्रसन्नता व्यक्त गरेका थिए ।

त्यसक्रममा दुवै विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग पनि राजदूत अधिकारीले कुराकानी गरेका थिए । र, उनीहरूलाई पाकिस्तानमा सिकेको ज्ञान, कौशल र सद्भावनाका साथ अध्ययन सकी स्वदेश फर्किएर कमजोर आर्थिक अवस्थाका मानिसको सेवामा जुट्न राजदूत अधिकारीले आग्रह गरेका थिए । मुल्तानमा ४० नेपाली विद्यार्थी चिकित्साशास्त्र अध्ययनरत छन् ।
