काठमाडौं- यो वर्षको मनसुन भित्रिएसँगै मुलुकका धेरै ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीआसपास विकसित न्यूनचापीय क्षेत्रका कारण शुक्रबार नेपालको पूर्वी भूभागमा मनसुन आगमन भएको हो।
वागमतीदेखि कर्णालीसम्मको पहाडी क्षेत्र र प्रदेश १ को केही भूभाग ठूलो पानी पर्ने मौसमविद्हरू बताउँछन्। गत वर्ष मनसुन फैलिएको एक सातापछि देशभर वर्षा भएकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको हो। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा पानी पर्ने आकलन गरिएको छ।
यस वर्ष प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहने पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी मनसुनमै पर्ने भएकाले पनि यो समयमा बाढीपहिरोका घटना धेरै हुने गरेका छन्।
पछिल्ला वर्षहरूमा ठूला पहिरो जानुका साथै ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि भारतसहितका मुलुक र अन्तरसरकारी निकायसँग सहकार्य गरेर पहिरोको पूर्वानुमानको प्रारम्भ गरिएको थियो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी अवधिमा १८ लाख जनसंख्या बाढीपहिरोको उच्च जोखिममा रहेको आकलन गरिसकेको छ। जसमा बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ।
गत वर्ष पहिरोमा परी दुई सय ९६ जनाको मृत्यु भएको थियो भने बाढीमा ४३ जनाको ज्यान गएको थियो। यो वर्ष बाढीपहिरोका घटना अझ बढ्ने आकलन मौसमविद्ले गरेका छन् ।
विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा यसअघि नै मनसुनी प्रक्षेपण गरिएको थियो। जसअनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश-१ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा धेरै पानी पर्नेछ।