रुपन्देही – सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुसास सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो ।
नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले गाडि चालकले आफ्नो परिवारको फोटो गाडिमा राखेर हिडे दुर्घटना कम हुने बताउँदै ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गरेका छन्।
गाडि चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउँने गरी सवारी चलाउनु पर्ने बताउँदै ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए ।
रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकार राज पन्तले बताए ।
प्रशिक्षण कार्यक्रममा १ सय ५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष मधुसुदन आचार्यको स्वागत मन्तव्य र महासचिव रुमाखर गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।