काठमाडौं, वैशाख २१ : नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यको कोभिड-१९ का कारण मंगलबार निधन भएको छ।
उनी १६ वैशाखमा कोरोना संक्रमित भई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचाररत थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १९ वैशाखमा सशस्त्र प्रहरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
२६ वैशाख ०१२ मा ललितपुर सातदोबाटोमा जन्मेका उनका एक र छोरा र दुई छोरी छन्।
०३९ सालमा मार्सल आर्ट विधाले नेपालमा पनि वैधानिकता प्राप्त गरेपछि क्योकुसिन कराँतेको विकास, विस्तार र प्रबर्द्धनमा उनी सुरुदेखि नै लागिपरेका थिए। उनीबाट दीक्षित हजारौँ खेलाडीले अहिले यो विधालाई देशभर फैलाउन र माथि उठाउन मद्दत पुर्याइरहेका छन्।
६५ वर्षीय उनी कराँते विधामा प्रशिक्षक तथा मुख्य जुरीको भूमिकामा सक्रिय थिए । सक्रिय खेल जीवनका क्रममा दुईपटक वर्ल्ड च्याम्पियनसिप, सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इन्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा समेत सहभागी भई पदक प्राप्त गरेका थिए । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका पदकधारी ब्रजाचार्य कराँते खेलका अग्रणी व्यक्ति थिए ।