उदयपुर– कोशी प्रभावित स्थानीय तहका प्रमुखहरुले ‘सप्तकोसी नदीलाई कहर होइन पर्यटन गन्तव्यको शहर’ का रुपमा विकास गर्न माग गरेका छन् ।
शुक्रबार एक अनौपचारिक कार्यक्रममा वेलका , बराहक्षेत्र, हनुमान नगर, कंकालिनी र सप्तकोसी नगर पालिकाका नगर प्रमुखहरुले कोसी ब्यारेज देखि उत्तर कोसीका किनारमा तटबन्धन निर्माण गरी करिडोरका रुपमा विकास गर्न माग गरेका हुन् ।
वेलका नगर पालिकाका प्रमुख अशोक कार्कीले कोसी करिडोर क्षेत्रलाई पर्यटन गन्तव्य स्थलको रुपमा विकासका लागि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश–१ का वन, वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यलाई नगर प्रमुख कार्कीले बर्षाको समयमा कोसीको वितण्डालाई सम्भावनामा रुपान्तरण गर्न आग्रह गरे ।
‘कोसी प्रभावित ६ वटा स्थानीय तहले यहाँको विकासका लागि प्रस्ताव बनाएर प्रदेश सरकार मार्फत् विकासका सम्भावना उजागर गर्ने हिसाबले अघि बढ्ने सामुहिक प्रतिबद्धता गरेका छौं,’ नगर प्रमुख कार्कीले भने, ‘यस विषयमा मन्त्री ज्यू सकारात्मक हुनु भएको छ, गुरुयोजना निर्माण गरेर अघि बढ्ने कुरा भएको छ ।
मन्त्री आचार्यले नगर प्रमुखहरुको सयुक्त मागलाई सम्बोधन गर्दै यो क्षेत्र पछाडि परेको बताए । ‘विकासका दृष्टिले यो क्षेत्र निकै अगाडि बढ्नु पर्ने हो, किन हुन सकेन? यहाँको सम्भावनाले अव मूर्त रुप पाउने छ,’ मन्त्री आचार्यले भने, ‘सामूहिक योजना निर्माण गरेर आउनुहोस्, प्रदेश सरकारले सक्ने सहयोग गर्छ, संघीय सरकारसँग म पुलको काम गरेर मध्यस्थता गर्नेछु, विकासका सम्भावनालाई अब कुनै अवरोधले रोक्न सक्दैन।’
वेलका–८ झण्डे डाँडाबाट प्याराग्लाइडिङ, सप्तकोशी नदीमा जलयातायातको सम्भावना, हिन्दुहरुको पवित्र तीर्थस्थल बराहक्षेत्र मन्दिर, चरा, अर्ना लगायत अन्य जीवजन्तुहरुको सुरक्षित स्थल कोशी टप्पु वन्यजन्तु आरक्षण लगायत हरेक कुराले पर्यटकीय स्थलको रुपमा विकास गर्न योग्य रहेको मन्त्री आचार्यले बताए ।