वीरगञ्ज वीरगञ्जका युवा उद्यमीहरूले उद्यमशिलता विकासका लागि व्यावसायिक दृष्टिकोणको सशक्तिकरणमा जोड दिएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको शुक्रबार साँझ वीरगञ्जमा भएको पदस्थापन समारोहमा सहभागी उद्यमीहरूले आर्थिक विकासका लागि युवा उद्यमीको अगुवाई आवश्यक रहेको बताएका हुन् ।
उद्यमी अनुप अग्रवालको अध्यक्षतामा गठित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई एनवाईएएफका नेशनल गभरनिङ्ग काउन्सिलका पदाधिकारीले संस्थाको पीन लगाएर पदस्थापित गरेका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा राकेश साह र द्वितीय उपाध्यक्ष सन्दीप अग्रवाल रहेका छन् ।
त्यस्तै नयाँ कार्यसमिति सदस्यमा संस्थापक अध्यक्ष अरविन्द्रबहादुर अमात्य, विश्वासप्रताप साह, काजल सिंह, अक्षत साह, विकाश ठाकुर, मनिषा सुनुवार श्रेष्ठ, सङ्कल्प शाक्य र पंकज अग्रवाल छन् ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले युवाहरूले उद्यमशिलतालाई आधुनिक र परिस्कृत रुपमा अंगाल्ने विश्वास व्यक्त गरे । नयाँ पिढीका युवालाई उद्यम व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।
एनवाईईएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष प्रकाशदेव पालिखेले युवाहरूले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । संस्थापक अध्यक्ष अमात्यले देश हाँक्ने क्षमता बोकेका युवाले उत्पादन तथा आविस्कारजस्ता कुरालाई अघि बढाउनुपर्ने बताए ।
संस्थाका नवनिर्वाचित अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा युवा उद्यमीको क्षमता अभिवृद्धिका कार्यक्रमहरू अघि बढाउने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंधका कार्यकारिणी सदस्यसमेत रहेका केडिया, सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का नवनिर्वाचित अध्यक्ष गणेश लाठ, कार्यकारिणी समितिका सदस्य अशोककुमार टेमानी र प्रदीप केडियालाई सम्मानित गरिएको थियो ।