काठमाडौं- हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भए पछि सजकता र सतर्कता अपनाउन वराहक्षेत्र नगरपालिकाले सम्पूर्ण नगर बासिमा आग्रह गरेको छ ।
बराहक्षेत्र नगरपालिका-५ सिमरबन बस्ने धनबहादुर माझीको जंगली हात्तीको आक्रमणबाट हिजो (मंगलबार) मृत्यु भएको छ।
साधारण नागरिक मृत्यु भएपछि बराहक्षेत्र नगर पालिकाले सर्वसाधारण नागरिकलाई सचेत र सजग रहन आग्रह गर्दै म्याईकिङ्ग र प्रेस विज्ञप्ति जारी गर्दै सजक र सतर्कता अपनाउन आग्रह गरेको हो।
जनजागृती सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी ६५ वर्षीय माझीको मृत्यु भएको थियो।
बिहान करिब १० बजे उनलाई हात्तीले आक्रमण गरेको बराहक्षेत्र नगर पालिका वडा नं ५ का वडा अध्यक्ष रोहित काफ्ले जानकारी दिए।
१ महिनादेखि जंगली हात्तिको बथानबाट गाउँ, तथा मानिसहरू प्रभावित भए पछि नगर प्रमुख रमेश कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै जन घनको क्षति न्युनिकरण गर्न तथा जंगली हात्तीको आक्रमणबाट बच्न जंगल क्षेत्रमा जथाभावी रुपमा प्रवेश नगर्न सम्पूर्ण नगर बासिन्दाहरुलाई आग्रह गरेका छन्।
घास, दाउरा लिन तथा गोठाला (गाई, वस्तु चराउन जाँदा) जंगल क्षेत्रमा प्रवेश गर्दा सावधानी अपनाउन पनि नगर प्रमुख कार्कीले आग्रह गरेका छन्।
वराहक्षेत्र नगरपालिका भित्र रहेका सामुदायिक वन तथा चारकोसे जङ्गल क्षेत्रमा आई बसेका जंगली हात्तीको बथानबाट दैनिक जसो जनधनको क्षति भइरहेको छ।
यसअघि ८ पुसमा बराहक्षेत्र नगरपालिका–२ रेल्वेलाइनमा एउटा जंगली हात्ती मृत फेला परेको सेक्टर वन कार्यालय चतरा रेन्जर सिसुराज झाले जानकारी दिए । उनका अनुसार त्यसयता आसपासका बस्ती र जंगलमा हात्तीको उपद्रो बढेको छ। त्यसयता बथानमा आएका जंगली हात्तीले बराहक्षेत्रमा आतंक मच्चाउँदै आएका छन्।