सुनसरी- पोखरा ख्रिस्टियन समुदाय तथा असल छिमेकी नेपालले कोशी बाढी प्रभावितहरूका लागि रिकभरी सहयोग लागि बीउ, विजन र प्रांगारिक मल वितरण गरेका छन्।
कोशी बाढी प्रभावित क्षेत्र बराहक्षेत्र नगरपालिका-६ र ९ का २०० तथा उदयपुर बेलका नगरपालिका-३ एबीसीस्थित श्रीलंका टापुका २०० का गरी ४०० परिवारलाई बीउ र मल वितरण गरिएको हो।
प्रतिपरिवार मकै हाइब्रिड पाँच किलो, करेला १० ग्राम, काँक्रो ५० ग्राम र प्रांगारिक मल २५ किलोका दरले वितरण गरिएको छिमेकी नेपाल योजना अनुगमन विभाग प्रमुख दिनेश केसी जानकारी दिए।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रशासकीय प्रमुख ऋद्धिप्रसाद सिटौला, कृषि शाखा प्रमुख तुलसा लिम्बू, बेलका नगरपालिका-३ वडाध्यक्ष टंकप्रसाद आचार्य, वडा सदस्य फाल्गुन कार्की तथा बराहक्षेत्र एकता इसाइ समाजका पदाधिकारी उपस्थित थिए।
यसअघि सोही संस्थाले दशैंमा कोशी बाढी पीडितलाई चामल, दाल, क्याटी, नुन, तेल, साबुन, मन्जन, ब्रस, जग, बाल्टी, झुल, ब्ल्यांकेट, पछ्यौरा, न्यानो टोपी तथा गर्भवती र सुत्केरीका लागि तोरीको तेल, घिउ, ज्वानो, मेथी, हर्लिक्स, बच्चाका लागि बेबी ब्ल्यांकेटलगायत सामग्री वितरण गरेको थियो। त्यसका लागि बराहक्षेत्र र बेलका नगरपालिकाका विपत व्यवस्थापन टिमसँग समन्वय गरिएको छिमेकी नेपाल योजनाका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी (राजु)ले जानकारी दिए।