भैरहवा- माघी पर्वको अवसरमा रुपन्देहीको ओमसतीया गाउँपालिका-६ मा चौथो ओमसतीया कला संस्कृति महोत्सव हुने भएको छ।
महोत्सवबारे जानकारी दिने उद्देश्यले राम जानकी मन्दिर, रंगशाला, सभाहल व्यवस्थापन तथा संरक्षण समितिले बुधबार पत्रकार सम्मेलन गरेको हो।
माघी थारू जातिको महान चाड हो। सम्पदा र संस्कृतिको जर्गेना गर्ने महोत्सवको मुल उद्देश्य रहेको ओमसतीया-६ का वडाध्यक्ष शिवकुमार धवलले बताए।
उनका अनुसार रामजानकी मन्दिर रंगशालाको भौतिक पूर्वाधार विकास गर्न यो महोत्सव गर्न लागिएको हो।
महोत्सवले मानिसमा सिकाइ उपलब्धी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा छ। यस महोत्सवमा विगतका वर्षहरूमा जस्तो टिकट नलाग्ने हुँदा दर्शकको घुइँचो लाग्ने समितिको अनुमान छ।
महोत्सवमा माघे खिचडी, युवायुवतीको खेल, आत्म सुरक्षा, कुस्ती महामुकाबला आयोजना हुनेछ। महोत्सवमा देव थापासहितका अन्तर्राष्ट्रिय कुस्ती पहलवानहरू, टिकटक सुपर स्टार नेपालका चर्चित कलाकार र विराहासहित उपस्थित हुने छन्। १ देखि ५ माघसम्म महोत्सव सञ्चालन हुनेछ।