काठमाडाैं : नेपाल लिटरेचर फेस्टिभलको दसौं संस्करण पोखरामा हुने भएको छ । पुस ६ देखि ११ गतेसम्म पाेखरामा हुने भएकाे हाे।
‘शब्दशक्ति उत्सवको एक दशक’ नारासहित बुकवर्म फाउन्डेशनको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । यो संस्करणको फेस्टिभलमा ५४ वटा सत्र रहनेछन् ।
जहाँ राजनीति, समाज, अर्थतन्त्र, साहित्य, खेलकुदलगायत विधामा छलफल गरिने छ । फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखकको उपस्थिति रहनेछन् ।
फेस्टिभलको यस संस्करणमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणतिलका, पत्रकार लेखक अक्षक मुकुल, सुकेतु मेहता, करिम खान, श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय लेखक आउने आयोजक बुकवर्म फाउन्डेशनले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
फेस्टिभलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, जनमत पार्टीका सिके राउतलगायत नेता उपस्थित हुनेछन् ।
पहिलो दिन पुस ६ गते शुभारम्भ साँझमा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने आयोजकले जनाएको छ । दोस्रो दिनमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक अर्धशास्त्री अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन दिने तालिका छ । फेस्टिभलमा केपी ओली, गगन थापा, सिके राउत लगायतका नेता गैरराजनीतिक विषयमा गफिने छन् ।