काठमाडौँ । ललितपुरस्थित कुपण्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसका दिन वाकाथन गर्ने भएको छ ।
अस्पतालले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमबारे जानकारी दिएको हो । मधुमेह रोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले अस्पतालले मधुमेह तथा इण्डोक्रिनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउण्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एलको सहकार्यमा उक्त बृहत कार्यक्रम गर्न लागेको जनाएको छ ।
वाकाथन आगामी शनिबार बिहान ७ बजे पाटन दरबार स्क्वायर परिसरबाट शुरु गरेर पुल्चोक, कुपण्डोल हुँदै माइतीघर मण्डलामा आएर अन्तरक्रिया कार्यक्रम गरी समापन गरिने अस्पतालका मेडिकल निर्देशक डा. अमित शाक्यले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथी र काठमाडौं महानगरका उप मेयर सुनिता डंगोल विशेष अतिथीका रुपमा सहभागी हुने छन् ।
यस्तै, साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीजकी अध्यक्ष डा. दिना श्रेष्ठले मधुमेहबारे समाजमा अझै भ्रम रहेको बताइन् । ‘यसबारेमा व्यापक जनचेतना फैलाउन आवश्यक छ’, उनले भनिन्, ‘वयस्कमा र अलि बढी उमेरमा हुने टाइप २ मधुमेह अहिले सानै उमेरमा देखिन थालेको छ ।’ यसबारे बेलैमा सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा अस्पतालका सिइओ डा. सन्तोष शाक्यले वाकाथन कार्यक्रम गर्नुको मुख्य उद्देश्य मधुमेहसम्बन्धी जनचेतना जगाउनु रहेको बताए । उनले मधुमेह भइसकेपछि यसको उपचारतर्फ लाग्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएको समेत औंल्याए ।
विश्वमा ५६३ मिलियन मधुमेहका बिरामी देखिएका छन् । यो संख्या बढेर २०३० सम्म ६४३ मिलियन पुग्ने र २०४५ सम्म ७८३ मिलियन पुग्ने अनुमान छ । हरेक १० मध्ये एक व्यक्तिमा मधुमेह देखिन्छ ।
यसैगरी, नेपालमा मधुमेहको व्यापकता शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा ५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन मधुमेह रोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विश्व मधुमेह दिवस मनाइन्छ ।