काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका शीर्ष दललगायतले आगामी ५ वर्षको नीति तथा कार्यक्रम तयार पार्दै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
दलहरुले शिक्षा, कृषि, स्वास्थ्य, सड्क, महिला तथा बालबालिका, जेष्ठ नागरिक लगायतका विषयलाई प्रमुख मुद्दा बनाएका छन् ।
देशको अर्थतन्त्रमा निकै महत्वपूर्ण टेवा पु¥याउने क्षेत्र पर्यटन हो । दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटन र सस्कृतिका क्षेत्रमा पुरानै योजना कायम राख्दै केही नयाँ योजना पनि थपेका छन् ।
नेकपा एमाले
सत्तापक्षको प्रतिपक्षमा रहेको नेकपा एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरिने योजना बनाएका छन् ।
नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरिने, पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरु निर्माण तथा सुधार गरिने जनाएको छ । पर्यटन सेवाको विस्तार गरिने, पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने, गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने लक्ष्य राखेको छ ।
यसैगरी पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने, प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सास्कृतिक , कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिज्मलाई प्रवर्द्धन गरिने छ । सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने जनाएको छ ।
नेकपा माओवादी
नेकपा माओवादीले रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन भन्ने नारासहित हिमालय टे«ललाई प्राथमिकतामा राखेका छन् ।
ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालय ट्रेल, धौलागिरी सेन्चुरी लगायतका पदमार्गहरुमा पर्यटन पूर्वाधार निर्माण गरिने, रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्धन गरिने जनाएको छ ।
त्यसैगरी हिमाल आरोहीहरुको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइने, हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दाे व्यवस्था गरिने छ ।
कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गरिने ।
उक्त कार्यक्रममार्फत ३० लाख विदेशी पर्यटकहरु भित्रने आधार तयार गरिने, पर्यटन क्षेत्रमा परमिट, शुल्क भुक्तानी लगायतका विषयलाई डिजिटल र एकद्धार प्रणाली लागु गरिने, पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखी पर्यटकमैत्री नीति, कार्यक्रम र नियमन प्रणाली स्थापित गरिने उल्लेख छ । स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्धारा प्रणालीमा ल्याइनेछ । कर प्रणालीलाई व्यवहारिक र पर्यटनमैत्री बनाइने माओवादी केन्द्रको योजना छ ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले आगामी दस वर्षमा नेपाल भित्रने पर्यटकहरुको सङख्या ३२ लाख पु¥याउने लक्ष्य सहित गुणात्मक वृद्धिमा जोड दिइने जनाएको छ ।
पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलको विकास गर्न लगानीकर्तालाई आवश्यक सहुलियत दिइने, नयाँ पर्यटकीय आकर्षणका रुपमा चिकित्सा, शिक्षा र चलचित्र निर्माणमा सहयोग पु¥याउन निजी व्यवसायसँग साझेदारीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुलाई वर्षमा पाँच दिन घुमघाम विदा र रु २५ हजार नगद प्रोत्साहन दिइने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नेपाली कांग्रेसको घोषणापत्रमा टे«किङ व्यवसायमा संलग्न भरियाहरुलाई स्तरीय बुट र पोशाकको व्यवस्था गर्न सम्बन्धित रोजगारदाता कम्पनीहरुलाई वित्तिय प्रोत्साहन दिइने उल्लेख गर्दै अर्काे पाँच वर्षमा सार्वजानिक निजी सहकार्यमा पर्यटकीय र आर्थिक सम्भाव्यता हेरी मनकामना र चन्द्रगिरी जस्तै नेपालभर कम्तिमा आठ वटा थप केबुलकार योजना कार्यान्वयन हुने जनाएको छ ।
एकीकृत समाजवादी
एकीकृत समाजवादीले नयाँ गन्तव्यको खोजीमा जोड दिदै दैनिक कम्तीमा ५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा प्रदान गर्न सक्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न पहल गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
पर्यटक आकर्षित गर्ने होटेल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने र होमस्टे सञ्चालन गर्न चाहने महिलाहरुको समुहका लागि रु ५० लाखसम्म दिएको ऋणको ५ प्रतिशत भन्दा बढी ब्याज अनुदान दिइने जनाएको छ ।