काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थपको तयारी गरिएको छ ।
त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
पछिल्लोपटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए ।
उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर लामिछानेले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।