काठमाडौँ । निर्वाचन आयोगले प्रकाशित गरेको प्रतिनिधि सभातर्फका दुई हजार ४१२ उम्मेदवारमा २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेदवार चुनावी मैदानमा छन् । जसमा ८० वर्षभन्दा माथि उमेर समूहका उम्मेदवारले २९ वर्षसम्मका उम्मेदवार प्रतिद्वन्द्वीका रुपमा पाएका छन् ।
तेह्रथुम क्षेत्र नम्बर १ बाट ८७ वर्षीय युवराम गौतम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्दै छन् भने उनीसँगै एमालेबाट ६४ वर्षीय विजय सुब्बा र ४६ वर्षीय कांग्रेसकी सीता गुरुङ चुनावी मैदानमा छन् ।
त्यसैगरी महोत्तरी क्षेत्र नम्बर ३ बाट ८० वर्षीय महन्थ ठाकुर लोसपाबाट चुनाव लड्दै छन् भने उनका प्रतिद्वन्द्वीका रुपमा जसपाबाट ६० वर्षीय हरिनारायण यादव छन् ।
८० वर्षभन्दा माथिका अर्का उम्मेदवार हुन नेकपा माओवादी केन्द्रका उम्मेदवार, महिन्द्र राय यादव । उनी ८५ वर्षका हुन् । सर्लाही २ बाट चुनाव लड्दै छन्, उनी । उनीसँग चुनावी मैदानमा एमालेका ५८ वर्षीय राजनारायण शाह र लोसपाबाट ६३ वर्षीय राजेन्द्र महतो रहेका छन् ।
बाराको क्षेत्र नम्बर १ बाट ८१ वर्षीय स्वतन्त्र उम्मेदवार कृष्णराज गिरी एमालेका ५७ वर्षीय अच्युत प्रसाद मैनाली र कांग्रेसका ५६ वर्षीय उमाकान्त चौधरीसँग चुनाव लड्दै छन् ।
त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि सबैभन्दा बढी उमेरका उम्मेदवार हुन् नेपाली कांग्रेस बी.पीबाट उम्मेदवार दिएका, टिकादत्त पोखरेल । ९९ वर्षीय पोखरेल गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्दै छन् । चुनावमा उनका प्रतिद्वन्द्वीका रुपमा एमालेका सबैभन्दा कान्छो उम्मेदवार २९ वर्षीय अब्दुस सलाम मियाँ छन् ।
यस्तै, ९९ वर्षीय पोखरेलसँग भिड्दै छन्, सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी ६६ वर्ष भएका छन् ।
८० वर्षभन्दा माथि उमेरका अर्का स्वतन्त्र उम्मेदवार हुन्, पशुपतिनाथ तिमिल्सिना । ८४ वर्षीय तिमिल्सिना कास्की क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै छन् । उनीसँग एमालेका ५६ वर्षीय दामोदर पौडेल वैरागी र माओवादी केन्द्रबाट ५६ वर्षीय रामजी प्रसाद बराल जीवन उम्मेदवार छन् । राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर के.सी पनि ८० वर्ष पुग्ने उम्मेदवारभित्र पर्छन । उनी बाग्लुङ १ बाट चुनाव लड्दै छन् । उनीसँग एमालेका ४६ वर्षीय सूर्य प्रसाद पाठक प्रतिद्वन्द्वीका रुपमा छन् ।
७७ वर्षीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेलधुराबाट ८४ वर्षीय कर्णसिंह रावल स्वतन्त्र उम्मेदवार छन् । उनीसँग जसपाका ४३ वर्षीय श्याम सिनाल चुनावी मैदानमा छन् ।