काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेल तालिकाअनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुने छ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।
कैलालीको फाप्ला मैदानमा समूह ‘ए’का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । आज कञ्चनपुर र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्ने छन् ।
कात्तिक १ गते दार्चुला र डोटी तथा बैतडी र बझाङ, २ गते अछाम र डोटी तथा बैतडी र कैलालीबीच भिडन्त हुने छ । कात्तिक ३ गते कञ्चनपुर र दार्चुला तथा डडेलधुरा र बझाङ भिड्दा कात्तिक ४ गते अछाम र दार्चुला तथा बैतडी र डडेल्धुरा खेल्ने छन् । कात्तिक ५ गते कञ्चनपुर र अछाम तथा डडेलधुरा र कैलाली आमनेसामने हुने जनाइएको छ ।
दुवै समूहबाट शीर्ष स्थानमा रहने एक एक टोली कात्तिक ६ गते फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिने छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदै छ ।